यतीको सिमरा उडान सुरु : भाडादर दुई हजार  

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान सुरु गरेको छ ।

कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो । यो यतीको ९ औँ र प्रदेश नं.२ मा दोस्रो गन्तव्य हो ।

एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सतर्कता अपनाएर आजबाट सिमरा उडान सुरु गरिएको जानकारी दिए । उनका अनुसार आज नाईन एन एएलएच कल साइन भएको जेटईस्ट्रीम–४१ विमान मार्फत बिहान ९.१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४.४५ बजे हुनेछ ।  “अब सिमरा नियमित रूपले दैनिक २ उडान हुनेछन् र यात्रुहरूको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ । उच्च सतर्कता अपनाएर उडान सुरु गरेकोले यात्रुहरूलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ”–प्रवक्ता बर्तौलाले भने ।

आज पहिलो दिन काठमाडौँ– सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोला प्रथा मार्फत १ जनालाई निः शुल्क हवाई टिकट उपलब्ध गराइने समेत उनले जानकारी दिए ।

यतीले हालको लागि प्रमोशनल भाडा काठमाडौँ– सिमरा–काठमाडौँको एकतर्फी रु एक हजार ९९९ तोकेको छ । यी गन्तव्यको टिकटहरू एअरलाईन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइन मार्फत लिन सकिनेछ । केही दिन अघि आन्तरिक पर्यटन प्रवर्धनका लागि भन्दै विभिन्न गन्तव्यहरूको लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सीहरू र मोबाइल एप्स मार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजना समेत अघि सारेको छ ।

विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२  पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एयरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

प्रतिक्रिया