‘घिसारेर निकालिहाल्’ अभिव्यक्तिमा कांग्रेस प्रवक्ताको आक्रोश, सोधे-नेकपा प्रवक्ता कहाँ हुनुहुन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को प्रदेशसभामा भएको घटनाको विषयमा नेकपा मौन रहेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सो प्रश्न उठाएका हुन् । उनले लेखेका छन्– ‘अरुले गरे बेठिक आफ्नाले गरे ठिक ? कता हुनुन्छ नेकपा प्रवक्ता ? `कुर्सी तोडफोड गलत´ कांग्रेस प्रवक्ता बोल्ने, `मन्त्रीको उत्तेजक आदेश गलत´ नेकपा प्रवक्ता किन नबोल्ने ? संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश प्रवक्ताज्यु ?’
हिजो (सोमबार) प्रदेशसभामा प्रदेश ५ काे राजधानीकाे विषयमा कांग्रेस लगायत प्रतिपक्षीहरूले कुर्सी ताेडफाेड गरेका थिए । संसदभित्रकाे साे कार्यकाे कांग्रेसले समेत पूर्णत अवाञ्छनीय भएकाे बताएकाे छ ।
तर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोध गर्ने सांसदलाई ‘घिसारेर निकालिहाल्’ भन्दै दिएकाे अभिव्यक्तिबारे नेकपाले कुनै प्रतिक्रिया जनाएकाे छैन । साेही विषयमा प्रश्न उठाउँदै प्रवक्ता शर्माले नेकपा प्रवक्ता खाेजेका हुन् ।
साथै उनले मर्यादापालकलाई मन्त्रीको उत्तेजक आदेश अनधिकृत,असंसदीय र आपत्तिजनक रहेकाे बताएका छन् । ‘संसदमा द्वन्द्व हुँदा संयमसँग समाधान खोज्ने कर्तव्य सभामुखको हो, संसद बाहिर मुख्यमन्त्रीको l सभामुख मौन र मन्त्री आक्रामक हुँदा द्वन्द्व चर्कन्छ l मन्त्रीको प्रस्तुति सरकारकै अभिव्यक्ति हो ?’ भन्दै प्रश्न समेत उनले राखेका छन् ।









