‘प्रधानमन्त्रीज्यू, यदि डा.केसीको जीवन तलमाथि भयो भने यसको शत-प्रतिशत दोषी तपाईँ हो’

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अनशनरत डा. गोविन्द केसीका माग तथा स्वास्थ्यको बेवास्ता गरेमा सरकारले ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । सांसद थापाले यदि डा. केसीकाे जीवन तलमाथि भएमा यसकाे शतप्रतिशत दाेषी प्रधानमन्त्री केपी शर्मा ओली हुने पनि चेतावनी दिएका छन् ।

सांसद थापाले लेखेका छन्-  ‘एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ । प्रमज्यू ,ख्याल राख्नुहोला, यदि डा.केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो ।’

यस्तै उनले ‘डा. केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन् ? तपाईँ आफैँले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ? डा.केसीसँग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ?’ भन्ने प्रश्न समेत गरेका छन् ।

उनले डा. केसीकाे माग पुरा गर्न कांग्रेसले सहयाेग गर्ने पनि बताएका छन् । ‘पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्, पूरा गर्नुहोस् । यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ’, सांसद थापाले लेखेका छन् । 

प्रतिक्रिया