कालोबजारी गरे स्पट कारबाही गरिने 

ध्रुवराज खनाल
चितवन । चितवनमा आपूर्ति व्यवस्थापन र बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय  चितवनमा बिहीबार बसेको सरोकारवालाको बैठकले वर्तमान विषम परिस्थिति र नजिकिँदै गरेको चाडवाडलाई लक्षित गर्दै आपूर्ति व्यवस्थापन र बजार अनुगमन प्रभावकारी बनाइने निर्णय भएको हो ।

बैठकले कालोबजारी गर्नेलाई ठाउँको ठाउँमै जरिवाना गर्ने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने निर्णय गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।

उपभोक्ता संरक्षण ऐन २०७५  र नियमावली २०७६ मा बजार अनुगमन र स्पटमै ५ हजार देखि ३ लाख सम्म जरिवाना गर्ने उल्लेख रहेको बताउँदै शर्माले त्यस्तो पाइएमा सोही बमोजिम जरिवाना तिराइ कारबाही गरिने  बताए ।  तर सूचनाको लागि व्यवसायीलाई एक हप्ताको समय दिइएको छ ।

निरन्तर अनुगमन तर स्थलगत जरिवाना एक हप्ता पछि मात्र लागू हुने सहायक प्रजिअ शर्माले बताए । वाणिज्य विभाग, वाणिज्य कार्यालय र निरीक्षण अधिकृतलाई कारबाहीको अधिकार छ ।  अनुगमन अहिले पनि गरिरहेका छौ शर्माले भने ‘स्थलगत जरिवाना तत्काल नगरी अर्को हप्ता देखि लागू हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहका उद्योग वाणिज्य संघका अध्यक्ष, महानगर प्रतिनिधि, घरेलु कार्यालय, वाणिज्य कार्यालय वीरगन्ज समेतको सहभागितामा रहेको थियो ।

प्रतिक्रिया