हुम्लाका सहायक प्रजिअले मागे माफी, भने–‘सीमाबारे बोल्नु गल्ती भयो’

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले सीमाबारे बोल्नु आफ्नो गल्ती भएको बताएका छन् ।

नेपाल–चीन सीमाबारे विवादास्पद अभिव्यक्ति दिएका अधिकारी हमाललाई गृह मन्त्रालयले २४ घण्टे स्पष्टीकण सोधेकोमा जवाफ दिँदै यस्तो बताएका हुन् ।

अधिकारी हमालले नाम्खा गाउँपालिका ६ स्थित ११ नम्बर पिलर हराएको र त्यहाँ चीनले नेपाली भूमि मिचेर एकतर्फी रूपमा भौतिक संरचना बनाएको गृहलाई जानकारी गराएका थिए ।

उनकै जानकारीका आधारमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितको टोली सीमा क्षेत्रमा पठाएको थियो । हराएको भनिएको पिलर पुरिएको अवस्थामा फेला परेको थियो ।

यता चीनले भने आफूले भवन बनाएको क्षेत्र आफ्नै भूभागमा पर्ने दाबी गरेको छ । नेपाल सरकारले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा बनेको भवन चिनियाँ भूभागमै बनेको जनाएको छ ।

बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीनबीच सीमा समस्या नरहेको र चीनले बनाएको भवन चिनियाँ भूभागमै रहेको बताएका थिए ।

नेपाली भूमिमा भवन बनेको समाचार बाहिरिएपछि काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शनसमेत भएको थियो ।

प्रतिक्रिया