नेपाल-चीनबीचको सीमा विवाद : ५८ वर्षपछि टाकुले लेकमा भेटियो ११ नम्बर पिलर

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीन र नेपालबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि भेटिएको छ ।

उक्त स्तम्भ हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले गत बुधबार फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराम अधिकारीले मकालु खबरलाई जानकारी दिए ।

सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको प्रजिअको टोलीलाई उदृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले मकालु खबरलाई जानकारी दिए ।

उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा भेटिएको छ । स्तम्भ हिउँले पुरिएको अवस्थामा भेटिएको थियो ।

५८ वर्षपछि भेटिनुको रहस्यबारे मकालु खबरले राखेको जिज्ञासामा अध्यक्ष तामाङले राज्यले खोजी नगरेको कारण अहिलेसम्म नभेटिएको बताए ।

“यसको रहस्य अरु केही पनि छैन । राज्य पक्षले नखोजेपछि यस्तो हुन पुगेको हो । सिडिओसाफहरुको टोलीले अहिले फेला पारेको हो ।”उनले भनेका छन् ।

अध्यक्ष तामाङका अनुसार टाकुले लेकको खोचमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि सुरक्षाकर्मीले माटो र हिउँ पन्छाएर हेर्दा ११ नम्बर सीमास्तम्भ भेटिएको थियो ।

११ नम्बर सीमास्तम्भ हराएपछि नेपालचीनबीच विवाद हुँदै आएको थिया । सुरक्षाकर्मीको टोलीले त्यसको खोजीलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाइएको थियो ।

प्रतिक्रिया