वीरमा कैदीको ‘शंकास्पद’ मृत्युबारे प्रवक्ताले भने– ‘यो भ्रम हो !’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कैदीकाे ‘शंकास्पद मृत्यु’ काे घटनाबारे गम्भीर ध्यानाकर्षण जनाएकाे छ । आज (बुधबार) मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले उक्त घटनामा कुनै सत्यता नभएकाे बताए ।

प्रवक्ता डा. गाैतमका अनुसार वीर अस्पतालमा उपचारका लागि केन्द्रीय कारागारबाट असोज ३ गते राति १०:५५ बजे एक कैदी ल्याइएकाे थियाे । रुपन्देही, सिद्धार्थ नगरपालिका घर भएका ६३ वर्षीय ती बिरामी कैदीलाई इमरजेन्सी विभागमा ल्याउने बित्तिकै परीक्षण गर्दा जिवित रहेको कुनैपनि चिन्ह नदेखिएपछि ड्युटीमा खटिएका चिकित्सकले तत्काल मृत घाेषणा गरेका थिए ।

कारागारकै सुरक्षाकर्मीको अनुरोधमा शवको कोरोना परीक्षण गर्नुपर्ने भइ मृतकको स्वाब लिइ अस्पतालको ल्याबमा परीक्षण गरिएकाे थियाे । असोज ५ गते रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गाैतमले जानकारी दिए ।

‘कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएकोले मृतकको शव अस्पतालकै शव गृहमा राखिएको थियाे । विगत ४ दिनदेखि मृतकको शव शवगृहमा रहेकाले सड्ने-गल्ने प्रक्रियाका कारण शरीरमा विभिन्न फोकाहरु निस्किएको, छालाको रंग निलो-कालोमा परिणत भएको, जिउ सुन्निएको तथा मुख र नाकबाट रगतमिश्रित तरल पदार्थ निस्किएको अवस्था हो,’ प्रवक्ता गाैतमकाे भनाइ छ ।

सड्न-गल्न सुरु भएको शवमा यस्ता परिवर्तन हुने र यो सामान्य प्रक्रिया भएकाे डा. गाैतमकाे भनाइ छ । साथै उनले मृतककाे शरीरकाे कुनै अंग ननिकालिएकाे पनि स्पष्ट पारे । उनले भने,‘मृतककाे शवबाट कुनै अंगहरु निकालिएको छैन र निकाल्ने कुरा पनि आउँदैन । कल्पना समेत गर्न नसकिने आरोप लगाएर समाचार सम्प्रेषित नगरिदिन म अपिल गर्न चाहन्छु ।’

मृतक कैदी ज्यान मार्ने मुद्दामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा थिए । उनकाे मृत्यु भएपछि परिवारले भने अस्पतालले अंग निकालेकाे, मृत्यु नभइ हत्या गरिएकाे आराेप लगाएकाे थियाे ।

प्रतिक्रिया