राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना राप्रपाकाे मूल लक्ष्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गाईलाई पार्टीको झण्डामा अंकित गर्ने निर्णय गरेको छ । पार्टीको चुनाब चिन्ह गाई हुनुपर्ने माग उठिरहेको बेला पार्टी एकीकरणमा हलो लाई चुनाब चिन्ह बनाएको राप्रपाले गाई अंकित पार्टीको झण्डा कायम गर्ने निर्णय गरेको हो । चुनाव चिन्ह साविकको राप्रपा (संयुक्त)ले प्रयोग गरेको हलो हुने भनिएको छ ।

आज बसेको पार्टीको कार्य सम्पादन बैठकले राप्रपाको झण्डा साविकको राप्रपाले प्रयोग गरिरहेको गाई अंकित झन्डा रहने निर्णय गरेको राप्रपा नेता दीपक बोहराले बताए । भने, साविकको राप्रपाको विधान हाल एकिकृत राप्रपा अन्तरिम विधान कायम गरिने निर्णय गरेको छ ।

निर्वाचन आयाेगमा दल दर्ताका लागि गएका राप्रपाका नेता कार्यकर्ताहरू । तस्विरः दीपक बाेहराकाे फेसवुकबाट

राप्रपाले आजै दीपक बोहराको नेतृत्वमा निर्वाचन आयोगमा गएर दल दर्ताको लागि निवेदन समेत दिएको छ । पार्टीले राजसंस्था सहितको हिन्दुराष्ट्र मुल लक्ष्य लिएको छ । पार्टीले दोस्रो संविधानसभा निर्वाचनमा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर समानुपातिकमा २४ सिट हासिल गरेपनि प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा पार्टीभित्रको आन्तरिक विवाद र विचलनले पार्टीले नराम्ररी जनमत गुमाएको थियो ।

यसका साथै कार्य सम्पादन बैठकले पार्टीको एकता महाधिवेशन आगामी बैशाखको २५ देखि २८ सम्म काठमाडौमा गर्ने निर्णय गरेको छ ।

तीन राप्रपाहरुको एकता पछि मुलुकमा नयाँ राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भएको राप्रपाको ठहर छ । राप्रपा एकताको ६ महिनाको प्रयास पछी दल दर्ता प्रक्रियामा गएको हो ।

प्रतिक्रिया