‘पापीहरुले मेरी छोरीको बलात्कार गरे, पञ्‍चायतले हत्या’

ललितपुर/सप्तरी । सप्तरी जिल्लाको डाकनेशवरी नगरपालिका वडा नं ७ ललितपुरकी रधियादेवी मण्डल सोमबार ब्रतमा थिइन् । ब्रत बसेका कारणले उनले खेतको आली काट्न आफ्नी छोरीलाई पठाइन् । आमाले अह्राएपछि साहिली छोरी १७ वर्षिया संगीताकुमारी मण्डल खेतको काम गर्न घरबाट निस्किइन् ।

बिहान ६ बजे घरबाट गएकी संगीता ९ बजेतिर घर फर्किइन् । ‘हिलै हिलो भएर आएकी थिई । कसैसँग पानीको निहुँमा झगडा परेछ किजस्तो लाग्यो । खासै वास्ता गरिनँ,’ बिहीबार दिउसो आफ्नै घरमा आमा रधियादेविले भनिन्, ‘एकछिनपछि उसैले मलाई बलात्कार गरे भनेर भनी ।’

बिहीबार उनको घरमा पुग्दा आफन्तहरुको भिडभाड थियो । सबैको अनुहारमा दु:ख र आक्रोश थियो । संगीताका भाई, रधियादेवीका कान्छा छोरा दिदीको क्रिया बसेका थिए । सामूहिक बलात्कारमा परेकी संगीताले त्यसै राति आफ्नै घरको दलिनमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । रधियादेवी भन्छिन्, ‘पापीहरुले मेरी छोरीको बलत्कार गरे, आत्महत्या गर्ने गाउँका पञ्चहरुले बनाए । पञ्चहरु पनि यसमा उत्तिकै दोषी छन् । मेरी छोरीले आत्महत्या गरेकी होइन, उसलाई बाध्य बनाइएको हो । उनीहरुले त्यसरी बेइज्जत नगरेको र पुलिसमा उजुरी गर्न दिएको भए ऊ मर्ने थिइन ।’

रधियादेवीले त्यसदिनको घटनाक्रम बताइन्, ‘सोमबार ऊ खेतबाट फर्किएको केहीबेरमै हाम्रो आँगनमा मान्छेको भिड लाग्न थाल्यो । मान्छेहरुले अनेक कुरा गर्न थालेका थिए । दिउसो गाउँको स्कुल नजिकको सार्वजनिक भवनमा पञ्चायती बसेछ । सुरुमा मलाई र छोरीलाई त्यहाँ बोलाइएन । छोरी खेतबाट आएदेखि नै विक्षिप्त थिई । चार–पाँचजना केटाहरुले उसको सामूहिक बलत्कार गरेका थिए । उसले ती सबैलाई चिन्छे । मलाई नाम पनि बताएकी थिइ ।’

१२–१३ वर्षअघि भारतको पञ्जाब गएका रधियादेवीका पति फर्केर आएका छैनन् । रधियादेवीले छोरीसँग सल्लाह गरिन्– भोलि गएर प्रहरीमा बलत्कारीविरुद्ध उजुरी दिने । तर, दिउसो रधियादेवीलाई पञ्चहरुले पञ्चायतमा बोलाए । ‘मलाई गाउँको कुरा गाउँमै मिलाउनुपर्छ भनेर पुलिसमा उजुरी नगर्न भने । मैले त्यो निर्णय नमान्ने र पुलिसमा उजुरी दिने बताएँ । त्यसपछि घरमा विक्षिप्त भएर बसेकी मेरी छोरीलाई पञ्चायतमा बोलाइयो,’ उनले सुनाइन्, ‘म नुहाउन गएको बेला छोरीलाई पञ्चायतमा लगेछन् ।’

रधियादेवीका अनुसार पञ्चायतमा संगीतालाई पञ्चहरुले प्रश्न गरे । ‘बारम्बार बलत्कारको घटना सुनाउन लगाएछन् । कसरी बलत्कार भयो भनेर सोधेछन् । उसलाई बेइज्जत गरेछन् । उसको कुरालाई हाँसोमा उडाएछन्,’ उनले दुखी हुँदै सुनाइन्, ‘बलत्कारमाथि पञ्चहरुले दिएको पीडा उसले सहन सकिन ।’

सुनुवाईपछि स्थानीयले पञ्चले ५५ हजार रुपैयाँ लिएर गाउँमै मिल्नुपर्ने फैसला सुनाए । ‘हामीले पैसा लिँदैनौं, उजुरी दिन्छौं भन्दा हामीलाई पञ्चायतको निर्णय नमाने गाउँबाट बहिष्कार गर्छौं भनेर धम्की दिए,’ उनले भनिन् । पञ्चायतको दबाब नमानी आमाछोरी घरतर्फ आउँदा टोलकै केही महिलाहरुले अपशब्द समेत प्रयोग गरेको उनले सुनाइन् ।

‘सयौंजनाको बीचमा पञ्चहरुले मेरी छोरीलाई बेइज्जत गरे,’ रधियादेवीले भनिन्, ‘पञ्चहरुको निर्णयका कारण न्याय पाउने आश उसले देखिन र घरको दलानमा पासो लगाएर आत्महत्या गरी । झुण्डिएको भएपनि ती पञ्चहरु मेरी छोरीको हत्यारा हुन् ।’ उनलाई लाग्छ, ‘छोरीले आत्महत्या गर्नुमा बलत्कारीको भन्दा पञ्चको भूमिका पनि कम छैन । प्रहरीमा नजान भनेर उनीहरुले पटकपटक धम्क्याए ।’

‘रातपरेपछि हामी घरमा थियौ, संगीता दलानमा थिइन्,’ रधियादेवीले भनिन्, ‘कति बेला आँखा लाग्यो सुतें । छोरीले बाहिरवाट घरको ढोका लगाई सलको पासो लगाएर दलानमा झुण्डिइछ ।’

राति १०–११ बजे निद्रा खुल्दा उनले छोरीलाई देखिनन् । ‘ढोका खोल्न खोजें, बाहिरवाट लागेको थियो, झ्यालबाट हेर्दा संगीता दलानमा झुडिएकी थिइन्,’ उनले भनिन्, ‘हल्ला गरेपछि छिमेकी आएर ढोका खोले । जिउदै छ सोचेर पासो काटी तल झार्दा उसको प्रण गइसकेको थियो ।’

शुक्रबारदेखि मलमास पर्ने भएकाले बिहीबार नै छोरीको कर्महरु गरिएको सुनाउँदै उनले माग गरिन्, ‘सरकार मेरी छोरीको हत्यारालाई कडा कारबाही होस् ।’

यो घटनामा तीनजना पञ्चहरुलाई प्रहरीले पक्राउ गरेपछि बलत्कारीहरु पक्राउ परेका छैनन् । ‘मुख्य अपराधीहरुलाई अझै पक्राउ गरिएको छैन,’ असन्तुष्टि पोख्दै रधियादेवीले भनिन्, ‘प्रहरीले ती अपराधीहरुलाई छिटो पक्रियोस् ।’

जेनतेन मजदु गरेर उनले जेठा छोरालाई कमाउनका लागि बिदेश पठाएकी छन् । जेठी छोरीको ५ वर्षअघि बिहे गरिन् । संगीताबाहेक एक छोरी र छोरा घरमा छन् । ‘गरिबको जीवन जसोतसो चलिरहेको थियो, पापीहरुले हेर्न सकेनन्,’ उनले भनिन्, ‘आफ्नै खेतबारीमा जाँदा पनि छोरीचेली बलात्कृत हुनुपर्ने ? अनि पञ्चहरुले नगदमा मिलाउन खोज्ने ? यही हो न्याय ?’ –कान्तिपुरबाट

प्रतिक्रिया