नेकपाको प्रस्ताव : ‘नेता कार्यकर्ताले एक-अर्काविरूद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने’

काठमाडौं । नेकपाले आफ्ना नेता/कार्यकर्तालाई एक-अर्काविरुद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने गरी निर्देशन दिने भएको छ ।
शुक्रबार (भोलि) बस्ने नेकपा स्थायी कमिटी बैठकमा पेश हुन लागेको राजनीतिक प्रस्तावमा पार्टीभित्रको अराजकता, अनुशासनहीनता एवं गुटबन्दीको नियन्त्रण गर्न जरूरी रहेको उल्लेख गरिएको छ ।
प्रस्तावमा भनिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि,पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै खालका अनेकता अराजकता अनुशासनहीनता एवम् गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछु ।’
पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोजेको भन्दै प्रतिवेदनमा गुट–गुटका अलग-अलग बैठक बस्ने निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप-प्रत्यारोपमा उत्रिने गलत अभ्यासलाई कडाइका साथ रोक्न प्रस्ताव गरिएको छ ।
गत १३ भदौमा स्थगित बैठक भोलिका लागि बोलाइएको छ । बैठकमा पेश हुने प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारिसकेका छन् ।
पछिल्लो समय पार्टीभित्रको समस्यालाई लिएर राजनीतिक दलहरुले आफूले मन नपराएको नेतालाई गाली गर्ने शृङ्खला बढेको छ ।
हालसालै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जसपा नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि सामाजिक सञ्जाल फेसबूकमार्फत् खनिएका थिए ।
गाली शिरोमणि’को सज्ञा दिएका थापाले डा. भट्टराईले ट्वीटरमा लेखेका ट्वीट मान्य नहुनेसमेत बताएका थिए ।
भट्टराईले तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको विषयलाई लिएर उनी विदाई हुँदै गर्दा आँसु खसाल्नुपर्ने अवस्था नभएको बताएका थिए ।








