बुटवलमा २ कोरोना संक्रमितको मृत्यु

बुटवल । हिजो शुक्रबार र आज बिहान बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित आइसोलेसन अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. २ की ३७ वर्षीय महिला र बुटवल उपमहानगरपालिका वडा नं. ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको जनाएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ १७ गते आइसोलेसनमा भर्ना भएकी महिलालाई शुक्रबार रातीदेखि भेन्टिलेटरमा राखिएको थियो । कोरोना संक्रमणबाहेक अरू कुनै स्वास्थ्य समस्या नदेखिएको भएपनि आज शनिबार बिहान ६ बजे महिलाको मृत्यु भएको डा. थापाले बताए ।

त्यस्तै बुटवल उपमहानगरपालिका ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति सवा ११ बजे मृत्यु भएको छ । पुरुषमा पनि कोरोना संक्रमण बाहेक अन्य कुनै स्वास्थ्य समस्या देखिएको थिएन । उनी भदौ १५ गतेदेखि अस्पतालमा भर्ना भएका थिए । चार दिनयता भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा शुक्रबार राति मृत्यु भएको हो ।

अस्पतालको आईसियूमा थप १४ उपचाररत रहेका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको जानकारी डा. थापाले दिएका छन् । यो सँगै रुपन्देही जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

रुपन्देहीमा पछिल्लो ३ दिनमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । यसअघि शुक्रबार र बिहीबार ३÷३ जना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =