बीपी प्रतिष्ठान धरानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं । बीपी प्रतिष्ठान धरानमा आज थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजविराज –७ का दुई पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाका अनुसार सप्तरीका ५५ वर्षीय पुरुष भदौ ४ गते प्रतिष्ठानमा भर्ना भएका हुन् । उनको भदौ ७ गते कोरोना पोजेटिभ रपोर्ट आएको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई भदौ ८ गते कोभिड –१९ को आइसियूमा भर्ना गरिएको थियो । उनको आज बिहीबार दिउँसो १ः१५ बजे मृत्यु भएको हो ।
रक्त अल्पता र मधुमेहको समस्या लिई अस्पताल भर्ना भएका ती पुरुषमा विगत १५ वर्षदेखि मधुमेह र उच्च रक्तचापको समस्या रहेको प्रवक्ता श्रेष्ठले बताए ।
यस्तै, सप्तरीकै अर्का ५० वर्षीय पुरुषको आजै कोरोना पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनको दिउँसो २ः०२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ती पुरुषलाई दिउँसो १ः२० बजे प्रतिष्ठानको इमर्जेन्सीमा गम्भीर अवस्थामा भर्ना गरिएको थियो । उनमा विगत ४ दिनदेखि ज्वरो, श्वास प्रश्वास, सरीर सिथिल हुनेजस्ता स्वास्थ्य समस्या देखिएको जनाइएको छ । उनी गम्भीर अवस्थामा प्रतिष्ठानमा भर्ना भएका हुन् । ती पुरुष लामोसमयदेखि मधुमेहसम्बन्धी समस्याले पीडित रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।
मृतकहरुको शव व्यवस्थापन तयारी भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।








