मास्क धोएर प्रयोग गर्न मिल्दैन, बरु पुनः प्रयोग गर्न मिल्छ, तर कसरी ?

काठमाडौँ । सामान्यतया अहिले मास्कको प्रयोग सबैले गर्न थालिसकेका छौँ । हाल कोरोना भाइरसको प्रकोपबाट बच्नको लागि मास्क सबैले लगाउनै पर्ने बाध्यता जस्तै भइसकेको छ । सामान्यतया हावाबाट सर्ने अन्य सरुवा रोगहरूबाट बच्नको लागि त पहिले देखिनै मास्कको प्रयोग हुँदै आएको पाइन्छ । तर मास्क लगाउनै पर्ने अहिलेको जस्तो बाध्यता भने सामान्य अवस्थामा थिएन ।
हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ व्यक्तिको प्रत्यक्ष विन्दु सङ्क्रमण अथवा थुकका छिटाबाट सर्ने भएकाले मास्क लगाउनै पर्ने भएको छ । व्यक्ति व्यत्तिबीच एक आपसमा कुरा कानी गर्दा श्वासबाट थुकका छिटाहरू निस्किने र अर्को व्यक्तिमा भाइरस फैलिने सम्भावना हुन्छ । भाइरस जुनसुकै व्यक्तिको शरीरमा हुन सक्छ । कसलाई रोग छ छैन भन्ने कुरा हामीलाई थाहा हुँदैन । त्यसैले मास्कको प्रयोग गर्नु अति आवश्यक छ ।
कस्तो मास्क कसरी प्रयोग गर्ने ?
मास्क कस्तो प्रयोग गर्ने भन्दा पनि सकेसम्म मेडिकल मास्कको प्रयोग गर्ने । अहिले बजारमा आएका सर्जिकल मास्क, एन ९५ मास्क भरपर्दो र उपयोगी देखिन्छ । कतिपय व्यक्तिहरूले एन ९५ मास्कको भित्र सर्जिकल मास्क पनि लगाएको पाइएको छ । तर विज्ञहरू भने एन ९५ मास्क भन्दा पनि सर्किजल मास्क बढी भरपर्दो रहेको बताउँछन् ।
केही दिन अगाडी कोरोना भाइरस सङ्क्रमणको सन्दर्भमा गगनकुमार थापासँगको फेसबुक लाइभ कुराकानीमा सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पनि मास्कको बारेमा जानकारी दिएका छन् । उनले एन ९५ मास्कको प्रयोगले एक जनालाई मात्रै रोग लाग्नबाट जोगाउने बताएका थिए । एन ९५ मास्कले लगाउने व्यक्तिलाई त रोग लाग्न बाट जोगाउँछ तर अन्य व्यक्तिलाई भने सर्न सक्छ । भल्भ भएको एन–९५ मास्कले बाहिरबाट भित्र जाने हावा त रोक्छ, तर भित्रबाट बाहिर आउने हावा नरोक्ने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘हामीले सास फेर्दा, खोक्दा वा हाच्छियूँ गर्दा थुकको छिटा बाहिर नजाओस् भनेर मास्क लगाउने हो। तर, भल्भ भएको एन–९५ मास्कले त्यस्तो छिटा बाहिर जानबाट रोक्दैन। यसले बाहिरको छिटा भित्र प्रवेश गर्न भने दिँदैन,’
डा. सुवेदीले कोरोना सङ्क्रमणबाट आफू मात्रै नभई अरूलाई पनि जोगाउनुपर्ने हुँदा यस्तो मास्कले अरूलाई सङ्क्रमणबाट जोगाउन नसक्ने बताए । ‘कतिपय मान्छेले एन–९५ भित्र छुट्टै सर्जिकल मास्क पनि लगाउन थाल्नुभएको छ। तर, सर्जिकल मास्क लगाएपछि अर्को लगाउनुपर्दैन’ उनले भने । मास्क लगाउँदा फिटिङमा पनि ध्यान दिनु पर्ने उनको भनाइ छ । छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने त्यसले सङ्क्रमणबाट बचाउन नसक्ने उनले बताएका छन् ।
यस्तै मास्क धोएर पनि प्रयोग गर्न नमिल्ने उनले बताएका छन् । उनले एन–९५ र सर्जिकल मास्क धुन मिल्दैन तर पुनः प्रयोग गर्न मिल्ने बताए । यो मास्क धोएमा बिग्रिने उनको भनाइ छ ।
मास्क हरेक दिन किनेर फेरि फेरि लगाउन त सम्भव हुँदैन अव के गर्ने त । धोएर पनि लगाउन नमिल्ने अर्को पटक लगाउन पनि नमिल्ने । भनेपछि अब त्यसको उपाय के ? डा. सुवेदीले भने, ‘एन ९५ र सर्जिकल मास्क पुनः प्रयोग मिल्छ । यस्तो छ मास्क पुनः प्रयोग गर्ने सजिलो तरिका – ‘आज एउटा मास्क लगाउने, त्यसलाई खोलेर कोठामा अलग्गै कतै झुन्ड्याएर राख्ने, भोलि फेरि अर्को लगाउने, त्यसलाई पनि उसै गरी झुन्ड्याएर राख्ने, यसरी चार दिनसम्म चार वटा छुट्टाछुट्टै मास्क लगाउने, ‘पाँचौँ दिनमा पहिलो दिन लगाएको मास्क लगाउने ।
यसरी मास्क लगाउनुको कारण के भने, पहिलो दिन लगाएको मास्कको बाहिरी पत्रमा भाइरस परेको छ भने पनि त्यो ७२ देखि ९६ घण्टासम्म मरिसकेको हुन्छ। पहिलो दिन लगाएको मास्क चार दिनपछि फेरि लगाउँदा सुरक्षित हुन्छ। र, यसरी मास्क नधोईकन पनि पुनः प्रयोग गर्न सकिन्छ । तर मास्क च्यातियो वा प्वाल पर्यो भने टालेर नलगाउने तयसलाई फालिदिनु पर्छ ।
यस्तै कपडाको मास्क लाई भने धोएर लगाउन मिल्ने डा. सुवेदी बताउँछन् । कपडाको मास्क प्रयोग गर्दा दुई किसिमको कपडाको पत्र भएको मास्क प्रयोग गर्ने गर्दा तयसले पनि भाइरस छिर्नबाट रोक्छ । धोएर फेरि पनि प्रयोग गर्न मिल्छ । यो मास्क एन ९५ जति नै प्रभावकारी हुने उनको भनाइ छ । ‘कपडाको मास्क धुन मिल्छ। धुँदा त्यसको फेब्रिक बिग्रँदैन, मास्कमा दुई किसिमका कपडाको पत्र प्रयोग भएको छ भने त्यसले एक किसिमको बिजुलीको तरङ्ग पैदा गर्छ, जसले भाइरस छिर्न दिँदैन। यस्तो मास्क एन–९५ जत्तिकै प्रभावकारी हुन्छ।’
मास्क रोग लागेका वा नलागेका सबैले लगाउन जरुरी छ । किनकि स्वस्थ व्यक्तिलाई रोग लाग्नबाट पनि जोगाउँछ र अर्को तर्फ रोग लागेको अथवा सङ्क्रमण भएको व्यक्तिले अरूलाई नसरोस् भन्नका लागि पनि यो अति नै आवश्यक छ । विभिन्न अध्ययनले पनि सर्जिकल मास्क, एन–९५ मास्क वा दुई–तीन तहको कपडाको मास्क लगाएर हिँड्यौँ र सही ढङ्गले लगायौँ भने कोरोना भाइरसको महामारी आफैँ नियन्त्रण हुने देखाएको छ ।
डा. सुवेदीले जापानको उदाहरण दिँदै भने त्यहाँ किन सङ्क्रमण कम छ । र मृत्यु दर पनि छैन भने त्यहाँका प्रायः सबैले मास्क लगाएरै हिँड्ने गर्छन् । जापानमा सङ्क्रमण दर नहुनुको कारण पनि मास्कको अत्यधिक प्रयोग नै भएको उनको भनाइ छ ।
यस्तै बिबिसीसँगको कुराकानीमा जनस्वास्थ्यविद् विनोदविन्दु शर्मा पनि मास्कको प्रयोग व्यक्तिगत सुरक्षाको लागि एकदमै भरपर्दो साधन रहेको बताउँछन् । उनी सर्वसाधारणलाई सर्जिकल मास्क प्रयोग गर्न सुझाव दिन्छन् ।
तर मास्क लगाउनुअघि र मास्क लगाइसकेपछि निकाल्दा सबैले ध्यान दिनुपर्ने हुन्छ । मास्क लगाउँदा ह्यान्ड स्यानिटाइजर प्रयोग गरेर अथवा साबुन पानीले राम्रोसँग हात धोएर मात्रै छुनु पर्ने हुन्छ । मास्क हटाउँदा पछाडिबाट निकाल्ने र त्यसपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ ।
मास्कै नै सङ्क्रमण रोकथामको तथा रोगबाट बच्ने उपाय भने होइन । कोरोना बाट बच्न एकआपसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन्।








