भरतपुर कोभिड ल्याब २४ सै घण्टा सञ्चालनमा ल्याइने, पूर्वी चितवनमा छुट्टै ल्याब राखिने

  • ध्रुवराज खनाल

चितवन । कोरोना भाइरस संक्रमणपछि भरतपुर अस्पतालको मातहतमा सञ्चालनमा रहेको कोभिड १९ प्रयोगशाला २४ सै घण्टा सञ्चालन गरेर छिटो रिपोर्ट सार्वजनिक गर्न वातावरण बनाइने भएको छ ।

अहिले सो प्रयोगशाला बढीमा १८ घण्टा मात्र सञ्चालनमा छ । संक्रमितको संख्या बढ्दै जाँदा स्वाबहरुको नमुना अत्याधिक मात्रामा प्रयोगशालामा थुप्रने गरेको छ । जसका कारण रिपोर्ट आउन एक साता सम्म लाग्ने गरेको छ । तत्काल रिपोर्ट आउने गरि प्रयोगशाला सञ्चालन गर्न पूर्वी चितवनका जनप्रतिनिधिहरु एक भएका छन् । सो प्रयोगशालालाई २४ सै घण्टा सञ्चालन गर्न उनीहरु सहमत भएका छन् । त्यसका लागि जिल्ला समन्वय समितिले पहल गर्ने निर्णय भएको छ ।

खैरहनी नगरपालिकामा सोमवार प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनालसहितको उपस्थितिमा भएको बैठकले प्रयोगशालालाई २४ सै घण्टा सञ्चालनका लागि आवश्यक वातावरण बनाउने सहमती भएको हो । अहिले १८ घण्टा प्रयोगशाला सञ्चालन हुँदा १० जना प्राविधिक कार्यरत छन् । २४ सै घण्टा सञ्चालन गर्दा थप जनशक्ती आवश्यक हुने हुँदा त्यसको जिम्मा जिल्ला समन्वय समितिले लिने सहमती भएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले बताए ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीका अनुसार अहिले १० जना प्राविधिकले १८ घण्टा काम गरिरहेका छन् । कुल विधीबाट परिक्षण गर्दा दैनिक सात सय सम्म परिक्षण भईरहेको छ भने सिंगल परिक्षण गर्दा २७० वटा नमुना मात्र परिक्षण हुन्छ । प्रयोगशालालाई २४ सै घण्टा संचालन गर्न सके भोली पल्टै रिपोर्ट दिन सकिने डाक्टर अधिकारीले बताइन् ।

बैठकले भरतपुर कोभिड प्रयोगशालामा क्षमता वृद्धि गराउनुका साथै बकुलहर रत्ननगर अस्पतालमा प्रयोगशाला स्थापना गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि जिल्ला समन्वय समिति चितवनले पूर्वी चितवनका चार वटा नगरपालिकाहरुको संयुक्त लगानीमा सञ्चालन गर्ने सहमती भएको खैरहनीका मेयर चौधरीले बताए । ‘भरतपुरको प्रयोगशालालाई क्षमता बढाएर काम गर्दै जाने, पूर्वी चितवनका लागि अर्को प्रयोगशाला खरिद प्रक्रिया अघि बढाउने सहमती भएको छ’, मेयर चौधरीले भने, ‘भोलि जुनसुकै अवस्थामा पनि यहाँको प्रयोगशाला प्रयोग गर्न सकिन्छ ।’

मेयर चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वी चितवनमा आईसोलेसन विस्तार गरि सञ्चालन गर्ने सहमती समेत भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । अहिले पूर्वी चितवनका चार वटा नगरपालिकाले रत्ननगर ५ टरौलीमा संयुक्त रुपमा आईसोलेसन सञ्चालन गरेका छन् । सो आइसोलेसनमा आईतबारसम्म २१ जना रहेका छन् ।

बैठकमा सहभागी प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगरका मेयर नारायण वनले भोलि भयावह हुन सक्ने स्थितीलाई मध्येनजर गर्दै पूर्वी चितवनमा प्रयोगशाला राख्नु जोड दिएका थिए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले भरतपुर कोभिड १९ प्रयोगशालामा एक सिफ्ट थप्न सकिने र त्यसका लागि आवश्यक जनशक्तीका लागि बेसिक तलब खुवाउन सके प्रोत्साहन रकम सरकारले व्यवस्था गर्न सक्ने बताए । तिवारीले मृत्युलाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने र यहाँका नागरीकले पनि स्वास्थ्य सजगता अपनाइ इमिन्युटी पावर बढाउन तर्फ लाग्नुपर्नेमा जोड दिए । बैठकमा कालिका र राप्तीका नगर प्रमुख भने उपस्थित थिएनन् ।

उनीहरुले सोमबार भएको निर्णयलाई सहमत जनाउने बताएका छन् । बैठकमा खैरहनीका वडाध्यक्षहरु रामशरण पाण्डे, भुमी प्रसाद कडेंल, मनेजर महतो, रत्ननगरका वडाध्यक्षहरु कृष्ण महतो, बलराम दाहाल, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा लगायत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =