धरानमा कोरोना : सिराहाका एकको मृत्यु, ६ जना नयाँ संक्रमित थपिए

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ८४ वर्षीय वृद्धको मृत्यु भएको छ । सिराहा जिल्ला भदैया ६ का संक्रमितको गएराति ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मेडिसिन वार्डमा उपचार गराइरहेका संक्रमितमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मिर्गौलाको समस्या खेपिरहेका ती वृद्धले लामो समयदेखि डायलासिस गराइरहेका थिए । मृतकमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

६ नयाँ संक्रमित थपिएः 
यसैबीच आज शनिबार मात्र धरानमा १० बर्षीया बालिकासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ६ जनामध्ये र ३ जना धरान १७ स्थित एन्फा क्वारेन्टिनमा सुरक्षार्थ खटिएका नेपाली सेना हुन् ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार क्वारेन्टिनमा खटिएका २६ बर्ष, २५ बर्ष र २७ बर्षका सैनिकहरुमा संक्रमण पुष्टि भएको छ ।

उनीहरुलाई अहिले हल्का ज्वरो आउन थालेको पनि जानकारी आएको उनले बताए । यस्तै, धरान १७ की एक जना ३९ बर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

अन्य २ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहने हुन् । उनीहरुको वीपीको हेल्प डेस्कमा स्वाब संकलन गरिएको थियो ।

ती मध्ये एक जना मेडिसिन युनिट ३ मा कार्यत हेल्ड एडकी १० बर्षीया भाञ्जि हुन् । अर्का एक जना संक्रमित १७ बर्षीय पुरुष छन् ।

उनी पनि प्रतिष्ठानको टि.बि. ल्याबमा काम गर्ने हेल्थ एडकै छोरा भएको जानकारी स्वास्थ्य महाशाखा प्रमुख मेहताले दिए ।
अहिलेसम्म धरानमा संक्रमितहरुको कुल संख्या १४० पुगेको पनि उनले बताए ।

उता धनकुटामा शनिबार एकै दिन १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनकुटामा एकै दिन संक्रमण पुष्टि भएको यो नै अहिलेसम्मको ठूलो संख्या हो । संक्रमण पुष्टि हुनेमा १३ जना प्रहरी, दूरसञ्चार प्राधिकरणका कर्मचारी चारजना र र दुईजना सर्वसाधारण रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

संक्रमित सबै पुरुष हुन् । संक्रमित प्रहरीहरु भने हालै सरुवा भएर धनकुटा आएका हुन् । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

जसमध्ये १७ जना निको भइसकेका छन् भने दुईजनाको मोरङको गोठगाउँमा र एकजनाको बिराटनगरमा रहेको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

धनकुटामा पछिल्लो समय थपिएका १९ जनालाई धनकुटामै राखेर उपचार गरिने प्रमुख गुरागाईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =