देउवा र डा. शेखरको भिडन्तमा शशांकको ग्रिन सिग्नल !

काठमाडौं । आगामी फागुन ७–१० मा हुन गइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि कांग्रेस नेता डा. शेखर कोइरालालाई बर्तमान महामन्त्री डा. शशांक कोइरालाको ग्रिन सिग्नल मिलेको छ ।

नेपाल लाइभसँगको कुराकानीमा वीपी पुत्र डा. शशांकले शेर बहादुर देउवासँग सभापतिका लागि भिड्न डा. शेखर उपयुक्त पात्र भएको बताउँदै सबैले डा. शशांकलाई स्विकार गरे आफ्नो खुल्ला समर्थन रहेको समेत संकेत गरेका छन् ।

‘शेखर दाजुलाई हाम्रा पक्षका सबैले समर्थन गर्छन् भने मेरो पनि समर्थन रहन्छ ।’ शशांकले भनेका छन् । उनले १४ औं महाधिवशेनले पार्टीलाई नेपालकै एक नम्बर पार्टीको रुपमा स्थापित गर्ने बताउँदै यो महाधिवेशनमा देउवा पक्षलाई हराउन कांग्रेस संस्थापन पक्ष एक भएर लाग्ने समेत बताएका छन् ।

डा. शशांकले पार्टी सभापति देउवाले पार्टीको विधि र पद्दति मिचेको, पार्टीभित्र निरंकुशता लादेको आरोप समेत लगाएका छन् । पछिल्लो समय पार्टी विधि विधान विपरित देउवाले भातृ सँगठन र विभागहरुमा धमाधम नियुक्ति गर्दा इमान्दार कार्यकर्ताहरु निराश भइरहेकोले १४ औं महाधिवेशनले पार्टीलाई सिष्टम र पद्दतिमा रुपान्तरण गर्ने पनि बताएका छन् ।

संस्थापन समुहमा सभापतिको दावेदार धेरै भएपनि डा. शेखरको पक्षमा सबै सहमत हुन सक्ने अवस्था रहेको उनको भनाई छ । आफु समेत सभापतिको प्रमुख दावेदार भएको जिकिर गर्दै डा. शशांकले अब शेर बहादुर र रामचन्द्र पौडेलले पार्टीको संरक्षक भएर बस्नुपर्ने बताएका छन् ।

१४ औं महाधिवेशनमा सभापति देउवा पुनः सभापतिमा दोहोरिने पक्षमा छन् भने, उनकै पक्षबाट महामन्त्री विमलेन्द्र निधीले पनि सभापतिमा उठ्ने आकांक्षा देखाएका छन् । यससँगै संस्थापन पक्षबाट डा. शशांक सँगै रामचन्द्र पौडेल, डा. शेखर, कृष्ण सिटौला समेत सभापतिका लागि आकाँक्षी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *