कतै निषेधाज्ञामा फुर्सद भएर धेरै सुत्नु भएको त छैन, त्यसो नगरौँ, यस्ता छन् बेफाइदा

काठमाडौँ । लामो समयको लकडाउनले गर्दा सबैजसो फुर्सदिला भएका छन् । कोरोना महामारीको सङ्क्रमण बढ्दै जाँदा बाहिर निषेधाज्ञा छ । कहाँ जाने त ? कति बस्ने घरभित्र ? के गर्ने ? काम छैन ? यस्तै खाले प्रश्नहरूले दैनिकी बितिरहेको छ ।
फुर्सदमा भएकाले कसैले समय बिताउन वैकल्पिक मार्ग अपनाउने गरेका छन् । जस्तै घरभित्रको काम–सरसफाइ देखि लिएर भान्छासम्म, अध्ययन, घरपरिवारका सदस्यहरूसँग समय बिताउने, गेम खेलेर बस्ने, तथा कसैले आफ्नो सिर्जनात्मकता तिर ध्यान दिने गरेका छन् । त कसैले यो सबै काम छोडेर दिनभरि निदाएर बस्ने गरेको पनि पाइएको छ ।
कार्यालय र शिक्षण संस्था बन्द हुँदा धेरै जना फुर्सदिला बनेका छन् । विशेष गरी घरका पुरुष, बच्चा । धेरै बच्चा होस् या ठुला मान्छेको दैनिकी पनि दिनभरि घरमा सुतेर नै बित्ने गरेको छ । शरीरको लागि आराम कति चाहिन्छ ? यो नबुझ्दा विभिन्न स्वास्थ्य समस्याले सताउने चिकित्सकहरू बताउँछन् ।
सुत्नु स्वास्थ्यका लागि एक हिसाबले राम्रो पनि हो । निन्द्रा स्वास्थ्यको लागि सकारात्मक पक्ष पनि हो तर कति सुत्ने भन्ने कुराले महत्त्व दिएको हुन्छ । तर धेरे सुत्नु पनि स्वास्थ्यको लागि राम्रो होइन र कम सुत्नु पनि स्वास्थ्यको लागि राम्रो होइन । दुवै पक्षले शरीरलाई नकारात्मक प्रभाव पारेकाे हुन्छ ।
कोरोनाका कारणले मानिसहरूको दैनिकी नै परिवर्तन भएको छ । खाना खाने सुत्ने काम बढी देखिएको छ । स्वास्थ्यको लागि धेरै खाने र धेरै सुत्ने बानीले स्वास्थ्य समस्या बढ्दै जाने सम्भावना हुन्छ ।
अत्यधिक निद्राले थुप्रै रोगहरू निम्त्याउन सक्छ । जसमध्ये सुताइबाट निम्तिने रोग हुन् इनसोमनिया र हाइपर सोमनिया । निद्रा नलाग्ने रोगलाई इनसोमनिया भनिन्छ भने धेरै निद्रा लाग्ने रोगलाई हाइपर सोमनिया भनिन्छ ।
दिनमा आठ घण्टा सुत्नु पर्छ । यसले शरीर स्वस्थ राख्छ । तर कसै कसैको यो भन्दा बढी सुत्ने बानी हुन्छ ।
बढी सुत्नुका बेफाइदा यस्ता छन् :
१ .ढिलोसम्म सुत्ने व्यक्तिको दिमाग सुस्त हुन्छ । तनाव र डिप्रेसन हुन सक्छ । शरीरको स्फूर्ति हराउँछ ।
२.बढी निदाउने महिलाको प्रजनन क्षमता घट्न सक्छ। हर्मोन स्राव र महिनावारीमा गडबडी आउन सक्छ।
३. शरीरको तौल बढ्ने, शरीरमा बोसोको मात्रा बढ्छ ।
४. दीर्घ रोग मधुमेहको समस्या निम्तिन सक्छ । शरीर सक्रिय र फिट हुँदैन। आठ घण्टाभन्दा बढी सुत्नेलाई मधुमेह हुने खतरा हुन्छ ।
५. शरीरको दुखाइ, टाउको दुख्ने, अपच, जलन, थकान महसुस हुने
६. अत्यधिक निद्राले डोपानाइन र सेरोटोनिन हर्मोनको स्तर कम हुन्छ । जसले डिप्रेसन निम्त्याउन सक्छ ।
७. बढी निदाउँदा हृदयाघातको जोखिम बढ्छ ।
यदि तपाईँ हामी जाे कोही ९ घण्टा वा सो भन्दा बढी सुत्नु हुन्छ भने आजैदेखि बानी सुधार गर्नुहोस् । स्वास्थ्य नै धन हो । स्वास्थ्य नै छैन भने अरू के काम गर्न सकिन्छ ? भन्ने बुझ्न जरुरी छ । त्यसैले प्रत्येक दिन ८ घण्टा भन्दा बढी नसुतौँ । बढी सुताइले पनि सिर्जनात्मक क्षमतामा ह्रास आउन सक्छ । त्यति मात्रै होइन विशेषज्ञ चिकित्सकहरूको एक अध्ययनले ९ घण्टा भन्दा बढी सुत्नेको हृदय स्ट्रोकको जोखिम २३ प्रतिशतले बढ्ने देखिएको छ । त्यस्तै ७ घण्टाभन्दा कम निदाउनेको तुलनामा ९ घण्टा भन्दा बढी निदाउनेको मुटुको स्ट्रोकको सम्भावना २३ प्रतिशतले बढी रहेको पाइएको छ ।
अध्ययनले के देखाउँछ भने धेरै सुत्नेको मस्तिष्क र मुटुसँग सम्बन्धित जोखिम बढाउने रहेछ । जसका कारण मानव स्वास्थ्यमा असर पर्छ । मानव स्वास्थ्यको महत्त्वपूर्ण र संवेदनशील अङ्ग भनेकै मस्तिष्क र मुटु हो । त्यसमा नै समस्या देखिएपछि अन्य अंगले पनि काम गर्दैनन् । त्यसैले शरीरलाई आवश्यक निन्द्रा पुरा गरौँ र अन्य समयमा व्यस्त रहौँ । स्वस्थ्य रहौँ । सजग रहौँ ।








