चितवनमा एकैदिन ४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय नाघ्यो

चितवन । चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालाको गएरातीको रिपोर्ट अनुसार थप ४४ जनामा कोरोना देखिएको हो ।

नयाँ संक्रमितमध्ये ४० जना चितवनको रहेको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् । उनका अनुसार अन्य ४ जना नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका हुन् । अन्य जिल्ला ठेगाना भएकाहरुको स्वाब भने भरतपुरकै अस्पतालहरुबाट संकलन गरिएको हो ।

प्रयोगशालामा मंगलबार राती गरिएको परीक्षणका क्रममा ५ बालक र ८ वर्षीया बालिकासहित ४४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ७१ वर्षीया वृद्धा पनि छन् । नयाँ संक्रमितहरुमध्ये ३६ जना भरतपुर महानगरपालिकाका छन् । उनीहरुको स्वाबको नमूना भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट लिइएको थियो ।

रत्ननगर नगरपालिकाका ३ जना र खैरहनी-१ का एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको स्वाब संकलन पुरानो मेडिकल कलेज, रत्ननगरस्थित क्वारेन्टिन र भरतपुर अस्पतालबाट संकलन गरिएको थियो । अस्पतालका स्वास्थ्यकर्मी तथा बिरामीहरुमा कोरोना संक्रमण बढेपछि यहाँका अस्पतालहरुले बिरामीलाई भर्ना गर्नुअघि कोरोना परीक्षण अनिवार्य गर्न थालेका छन् ।

मंगलबार २ सय १८ जनाको नमूना परीक्षण गरिएको थियो । चितवनमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =