एमडी/एमएसमा वीपी प्रतिष्ठानलाई सबैभन्दा बढि सिट, कसलाई कति ?

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोस्ट ग्राजुएसनमा सबैभन्दा बढि सिट प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोग स्रोतका अनुसार धरानस्थित वीपी प्रतिष्ठानलाई पिजी प्रोगामका लागि सबैभन्दा बढि सिट दिइएको हो ।
प्रतिष्ठानको शैक्षिक गुणस्तर र क्षमता हेरेर उक्त सिट दिइएको हो । प्रतिष्ठानले एमडी/एमएसका लागि १३५ सिट पाएको छ । वीपी प्रतिष्ठान पछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले १२७ सिट प्राप्त गरेको छ ।
यता त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले ११८ सिट पाउँदा काठमाडौं मेडिकल कलेजलाई ७१ सिट दिइएको छ । विराटनगरस्थित नोवेल मेडिकल कलेजलाई ४९ सिट दिइएको छ ।

ललितपुर पाटनस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४९ सिट, पोखराको मणिपाल मेडिकल कलेजलाई ३३ सिट, चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजलाई ४८ सिट, जोरपाटीको नेपाल मेडिकल कलेजलाई ५५ सिट निर्धारण गरिएको छ ।
यस्तै नेपालगन्ज मेडिकल कलेजलाई २४ सिट दिइएको छ । लुम्बिनी मेडिकल कलेजलाई ३३ सिट, काठमाडौं विश्वविद्यालय धुलिखेललाई ४६ सिट, युनिभर्सल मेडिकल कलेज नेपालगञ्जलाई ४१ सिट, नेशनल मेडिकल कलेजलाई ४६ सिट छ ।
जनकपुरको जानकी मेडिकल कलेजलाई ४ सिट दिइएको छ । यता किष्ट मेडिकल कलेजलाई ४६ सिट, चितवन मेडिकल कलेजलाई ५१ सिट, गण्डकी मेडिकल कलेजलाई ३३ सिट दिइएको छ ।
यता नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई ५२ सिट दिइएको छ । पिपुल्स डेन्टल कलेजलाई १६ सिट र कान्तिपुर डेन्टल कलेजलाई १० सिट दिइएको छ । माष्टर्स अप्थोमेटिक्स पढाउन तिलगंगालाई ७ सिट तथा हिमालय आई इन्स्टिच्युट पोखरालाई ६ सिट दिइएको छ ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्ट ग्राजुयसन पढाउनका लागि ५ सिट पाएको छ । अघिल्लो वर्ष पिजी पढाउन मान्यता पाएको पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठानले थप ९ सिट बढी पाएको छ । यससँगै पोखरालाई पिजी अध्यापनका लागि २६ सिट दिइएको छ ।
चिकित्सा शिक्षा आयोग गठन भएसँगै एमडी/एमएसको सिट संख्या वृद्धि भएको छ । चिकित्सातर्फको एमडी/एमएस र डिएमएस गरी २८६ सिट बढेको छ ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मेडिकल कलेजहरुलाई एमडी/एमएसको सिट संख्या निर्धारण गरीएपनि औपचारिक रुपमा सार्वजनिक नगरिएको बताए । उनले एक दुई दिनमा निर्णय सार्वजनिक गर्ने बताएका छन् ।









