पूर्वी चितवनमा कोरोना परिक्षण प्रयोगशाला थप्न माग

  • ध्रुवराज खनाल

चितवन । चितवनको भरतपुर कोरोना परिक्षण प्रयोगशालामा नमुना परिक्षणको चाप भएपछि रिपोर्ट आउन ढिलाई भईरहेको छ । भरतपुर प्रयोगशालामा चितवन जिल्ला बाहिरका पनि रिपोर्ट परिक्षण हुने गरेकाे थियाे । तर पछिल्लो समय नगरपालिका र अस्पतालबाट संकलित नमुनाको मात्र परिक्षण गरिरहेको छ । अस्पतालमा उपचार गर्न गएकाहरुलाई नै संक्रमण देखिएपछि ट्रेसिङ गर्दा पनि स्बावको नमुना धेरै देखिएको छ । जसका कारण क्वारेन्टिनबाट पठाइएको स्बावको रिपोर्ट आउन ढिलाई भएको हो ।

प्रयोगशालामा नमुनाको चाप अत्यधिक हुँदा रिपोर्ट आउन ढिलाई भएपछि पूर्वी चितवनका चार वटा नगरपालिकाले वकुलहर रत्ननगर अस्पतालमा प्रयोगशाला राख्न माग गरेका छन् । नगरपालिकाका मेयरहरुको आईतबार बसेको बैठकले पूर्वी चितवनलाई केन्द्रित गर्दै प्रयोगशालाको माग  गरेको हो । प्रयोगशालाका लागि बागमती प्रदेश सरकारसमक्ष माग गर्ने निर्णय भएको रत्ननगरका मेयर नारायण वनले जानकारी दिए ।

पूर्वी चितवनमा पनि समुदायस्तरमा कोरोना फैलिएको आशंका छ । खैरहनी र रत्ननगरका केही व्यक्ती उपचारका लागि अस्पताल गएकोमा त्यहाँ संकलित स्बावको रिपोर्ट पोजेटिभ आएको छ ।शनिबार राती गरिएको परिक्षणमा रत्ननगरमा ४ जना र खैरहनीमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

बैठकले वकुलहर रत्ननगर अस्पतालमै आईसोलेसन बनाउने निर्णय समेत गरेको छ । आईसोलेसनका लागि आवश्यक सामान बागमती प्रदेश समक्ष माग गर्ने निर्णय भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनमा पन निषेधाज्ञा जारी गर्न चारै नगरपालिका प्रमुख सहमत भई जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराईएको खैरहनीका मेयर लालमणि चौधरीले बताए । चार नगरपालिकाले आईतवाररातीदेखी जारी हुने गरि निषेधाज्ञा लागू गर्न आग्रह गरिएकाले संभवत आईतबार राती १२ बजेदेखी भदौ ७ गतेसम्म जारी हुनेछ । बैठकले राप्ती नगरपालिकामा रहेको शशस्त्र प्रहरी बल गढीमाई गण ३ नम्वर वाहिनी बागमती प्रदेश कार्यालयमा आईसोलेसन वार्ड तयार गर्नका लागि बागमती प्रदेश सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

रत्ननगरका मेयर नारायण वनको अध्यक्षतामा बसेको बैठकमा खैरहनीका मेयर लालमणि चौधरी, कालिका मेयर खुमनारायण श्रेष्ठ, राप्तीका मेयर प्रभा बराल, रत्ननगरका उपमेयर विमला दुवाडी, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल, खैरहनीका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, राप्तीका प्रमुख प्रशासकीय अधिकृत गंगावहादुर भुजेल, इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक रविन कार्की, रत्ननगर १० का वडाध्यक्ष केशव आचार्य, कालिका ६ का वडाध्यक्ष विनोद रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =