सिन्धुपाल्चोकमा बाढीमा परी २० जना वेपत्ता, २ बालक घाइते, उद्दारका लागि हेलिकप्टर जाँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले चार दिन मुलुकभर यो वर्षकै ठूलो वर्षा हुने बताइरहेको बेला सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ । बाढीमा परी कम्तिमा २० जना मानिस बेपत्ता छन् । जिल्लामा रहेका जलविद्युत आयोजनाहरुमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको जानकारी आएकाले टोली परिचालन गरिएको बताएका छन् ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बाह्रबिसे नगरपालिका वडा नं. ३ को इलाका प्रहरी कार्यालय बाह्रबिसे नजिकै अरनिको राजमार्गको एउटा साइड नै बगाएको बताए ।  बाह्रबिसे नपाको जम्बु बजारनै बगेको स्थानीयको भनाइ छ ।

 बाढीले यस्तै खगदल भन्ने ठाउँमा पक्की पुल बगाएको र सो स्थानमा करिब १२ वटा घर बगाएको मेयर शेर्पाले मकालु खबरसँगको कुराकानीमा भने ।  यसैगरी सोहि क्षेत्रको आधा किलोमिटर अगाडि वडा नं. ५ र ८ को बीचमा पनि केही घरहरु बाढीले बगाएको जानकारीमा आएको मेयरले बताए ।

यता भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बर्कुटे भन्ने स्थानमा एकै घरका ४ जना परिवार वेपत्ता भएको जानकारी दिए । उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली बोलाइएको छ । डाडे खोलाको पुल पनि बाढीले बगाएको छ ।

एउटा घरको दुई बालबालिकाहरु घाइते भएको खबर आएकोले उनीहरुको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको पौडेलले मकालु खबरसँग भने । बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 12 =