५ वर्षीय बालकसहित थप २ कोरोना संक्रमितको मृत्युः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
आज (शनिबार) को प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पर्साका अन्दाजी २५ वर्षीय पुरुष र बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।
प्रवक्ता गौतमका अनुसार वीरगञ्ज महानगरपालिका घण्टाघरस्थित अन्दाजी २५ वर्षीय पुरुषको जेठ २८ गते बेवारिसे अवस्थामा शव फेला परेको थियो । पोस्मार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको थियो । साथै उनको स्वाब संकलन गरी नारायणी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गर्दा जेठ ३० गते रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी बाराको निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल निवासी ५ वर्षीय बालकलाई ज्वरो तथा स्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
हिजो नै आरडिटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा वार्डमा राखि उपचार सुरु गरिएको थियो । नारायणी प्रयोगशालामा पिसिआर परीक्षण गर्दा सो रिपोर्ट पनि पोजेटिभ आएको हो । प्रयोगशालाको रिपोर्ट नआउँदै बालकको हिजो नै मृत्यु भइसकेको प्रवक्ता गौतमले जानकारी दिए ।








