प्रदेश सरकार ! लज्जा बोध भइसक्यो, अब त जाग

  • जीवन्ती पौडेल

जननिर्वाचित प्रतिनिधिहरु जनताका साझा अभिभावक हुन भन्ने गरिमा बोकेको तीन तहको सरकार समग्र विकासको जिम्मेवारी बोकेर सस्थांगत रुपमा अगाडि बढी रहेकै बेला अकल्पनिय प्रकोपको सामना गर्न बाध्य छ यति बेला ।

यो अवस्थामा सबैको चित्त बुझाएर काम गर्ने वातावरण त छैन तर, पनि भएको स्रोत साधन परिचालन गरी धेरै भन्दा धेरै जनतालाई अभिभावक छ हाम्रो भन्ने अनुभूति दिन सक्नु पर्ने समय हो । औपचारिक रुपमा जिम्मेवारी प्राप्त गरेका नेताहरुले आफ्ना सहयोगीहरु पहिचान गरी परिचालन गर्न आफ्नो कला प्रदर्शन गर्नु पर्ने समय पनि हो यो ।

तर, पार्टी निर्माणका लागि कुनै पनि त्याग दुःख नै नगरी नेताको चाकडी, पैसा र गुन्डागर्दीको आडमा प्राप्त गरेको पद-प्रतिष्ठा जोगाउन मात्रै पनि पार्टी निर्माणमा अनबरत आफ्नो जीवन समर्पण गरेका पाका पुराना कार्यकर्ताहरुसँग सहयोग लिन अहंकारले घर्लम्मै ढाकेको मानसिकतालाई सहज पक्कै पनि छैन । विशेष गरी सुदूरपश्चिम प्रदेशमा यो अवस्था बढी देखिएकोले जनता धेरै समस्यामा छन् । सुदूरपश्चिमको रोजगारी भारतका विभिन्न शहरहरुमा निर्भर रहँदै आएको छ । त्यसै पनि गरिबी र पछौटेपनका कारण बिकराल समस्यामा रुमल्लिएको सुदूरपश्चिममा गलत राजनीतिक प्रवृत्तिले झन् समस्या बल्झाइरहेको छ ।

सुदूरपश्चिमका अनेक समस्याहरु छन्, तीमध्ये देशका विभिन्न जिल्लाबाट बसाईँ सरी आउनेहरुको अधिकांश बस्तीहरुमा जाती, वर्ग र ठाउँ विशेषका आधारमा मानसिक रुपमा विभाजनको रंग प्रष्ट अनुभव गर्न सकिन्छ । व्यक्तिगत चाकडी नगर्दा जिन्दगी भरी दुःख गरेका कार्यकर्ताहरुको राजनीतिक जीवन समाप्त पार्दिन सक्नेसम्मको अवस्था छ । नेतृत्वले अवसरको बाँडफाँडमा पनि नितान्त आफ्नो राजनीतिक हैकम बचाउन केन्द्रीत रहि खल्तीबाट अवसर वितरण गर्ने गरेका दृष्टान्तहरु पनि कार्यकर्ताको भोगाई र अनुभव रहेको छ ।

जसरी पनि नेतृत्वमा टिकिरहनु पर्ने मानसिकताले गलत र काम नगरी पद हत्याउने भरौटेको काँधमा जिम्मेवारी दिँदा अनेकन आन्दोलनबाट स्थापित भएका सम्भावित नेतृत्वको सृजनशिलताको हत्या भएको छ । यसले काम गर्ने र इमान्दार नेता-कार्यकर्ताको मनोवल घटाउने काम गरेको छ । यस्तो अवस्थामा कार्यकर्ताहरु तैं चुप मैं चुपको नीति अबलम्बन गरी टुलुटुलु हेर्नू सिवाय अर्को बिकल्प देख्दैनन । देश र जनताको सेवा गर्छु भनी सहिदको रगतले सिञ्चित लालझन्डा सामु उभिएर हामी कार्यकर्ताहरुले पनि देश र जनताको सेवा गर्छौं भनी कसम त खाकै हौं । जनतासँग खाएको कसम पूरा गर्न नसक्दा अहिले त्यही कसमले भतभती पोलिरहेको छ हामीलाई ।

जनताले तिरेको करमा मोज गरेर भुँडी पल्टाउँदै जनताका समस्यासँग बेखबर जस्तो भएर एसीमा बस्न र चिल्ला गाडी हुइँक्याउन लाज लाग्दैन ? प्रदेशमा जे जति स्रोत साधन छ त्यसैले जनताको पक्षमा उभिनु पर्दैन ?

यति बेला भारतका विभिन्न शहरमा रहेका नेपाली सबैभन्दा धेरै पश्चिमी नाकाबाट नेपाल प्रवेश गरेका छन् । तीमध्ये सबै जसो सुदूरपश्चिमका छन् । उनीहरुले नेपाल आएपछि सुरक्षित महसुस गर्न पाउनु पर्छ । तर, उनीहरु खान नपाएको, क्वारेन्टाइनको नाममा एकै ठाउँ धेरै जना थुप्रिएर बस्नु परेको जस्ता गुनासो सुनिएको छ । जनताको सरकारसँग जनताले खोजेको आधारभूत आवश्यकता पाउनु पर्छ । उनीहरुले पाउनु पर्ने स्वास्थ्यमा कुनै पनि प्रकारको कमजोरी गरिनु हुँदैन । क्वारेन्टाइमा राखिएपछि गर्नुपर्ने सबै प्रकारको उपचार र सेवा सुविधा दिइयोस् । यसो गर्दा हामीले सरकार प्रति गौरवको अनुभूति गर्ने छौँ भने जनताले सरकार आफ्नो भएको ठान्ने छन् । जिम्मेवारी पूरा गर्ने ठाउँमा बसेपछि सबै कुराको जवाफदेही बन्नुपर्छ मौनता साँधेर वा केही छैन भनेर उम्कन पाईंदैन । भोली हामी जाने त्यही जनताका बीचमा हो । यो कुरा हामी कसैले भूल्न हुँदैन ।

यति बेला विश्व कोरोना भाइरसबाट आक्रान्त छ । हामी घर भित्र बन्दी जस्तै छौं । स्वविवेकको सेवाबाहेक जनताका पक्षमा काम गर्ने कुनै जिम्मेवारी छैन । जनतालाई यो भन्दा दुखःको क्षण कहिले आउँछ होला र ? नआओस् पनि । हामीले रातदिन जनताकै सेवा गर्न समाजमा रहेको लैङ्गिक, जातीय, वर्गाीय एवं ठाउँ र भूगोलका आधारमा गरिने विभेद समाप्त पार्न राजनीतिक काममा आफ्नो मानो खाएर बनाएको पार्टी हो यो । पार्टीले यति बेला तीनै तहको सरकारको नेतृत्व गरिरहेको अवस्थामा सुदूरपश्चिममा भएका केही समाचारहरु सुन्दा लज्जा बोध भएको छ ।

जनताका पक्षमा काम गर्न नसक्ने, चुनौतीको सामना गर्न हिच्किचाउने स्वभाव भएका जनप्रतिनिधिहरु लाचार बनी सत्ता मोहमा लिप्त नहुनुस् । जनताले तिरेको करमा मोज गरेर भुँडी पल्टाउँदै जनताका समस्यासँग बेखबर जस्तो भएर एसीमा बस्न र चिल्ला गाडी हुइँक्याउन लाज लाग्दैन ? प्रदेशमा जे जति स्रोत साधन छ त्यसैले जनताको पक्षमा उभिनु पर्दैन ? कोरोनाको महामारी भएको बेला अस्पतालमा आइसोलेसन पुगेन भने सबै भन्दा पहिले मन्त्री निवासलाई नै आइसोलेसन बनाउनु पर्छ । जनता उपचार नपाउने नेता मन्त्री आलीसान भवनमा किन बस्ने ? मन्त्रीले चढ्ने गाडीलाई संक्रमितको लागि एम्बुलेन्स बनाउनु पर्छ ।

फेरी पनि आग्रह छ, सुदूरपश्चिम प्रदेश सरकार हाम्रो पसिनाको उपहास नगर । बच्चा भोकले रुँदै गर्दा तीनका बाबु आमासँग भोग मेटाउने केही छैन, म जनतालाई खान-लगाउन दिन सक्दिन भनेर उम्कन कदापी पाइँदैन । ज्याला मजदुरी गरेर हुन्छ वा ऋृण सापटी गरेर भएपनि आफ्नो जिम्मेवारी पूरा गर सरकार । जनताले त्यसैका लागि हो भोट दिएर जिताएको । हामीले त्यो भूल्न हुँदैन । अन्य भौतिक विकास रोकेर भएपनि सुदूरपश्चिमेली जनताको आधारभूत मानव अधिकारको सम्मान गर । अवस्था सजिलो पक्कै छैन तर, जनताप्रतिको आफ्नो दायित्व पूरा गर्न केही त गर । सरकार अब त जाग्नैपर्छ ।

(कृयाशिल महिला नेतृ पौडेल किसान महासंघकी सचिवालय सदस्यसमेत हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =