‘विदेशको ज्ञान र सीपलाई स्वदेशमा सदुपयोग गर्नसके सुनमा सुगन्ध हुन्छ’

भाद्र १५, काठमाडाैँ ।  पछिल्लो समय उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । कतिपय विद्यार्थी विदेशमा पढेर नेपाल फर्किएर केही गर्छु भन्ने उद्देश्यले जान्छन् भने कतिपय उतै सेटल हुने उद्देश्यले गएको पाइन्छ । 

विद्यार्थीहरु स्वदेश फर्कन किन चाहँदैनन् ? के नेपालको शैक्षिक स्तर खस्केकै हो त ? यसै विषयमा वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर आशिक कार्कीसँग गरिएको कुराकानी संक्षेपः 

तपाई र तपाईको संस्थाको परिचय दिनुस् न ? 

म आशिक कार्की, वेद इन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीको म्यानेजिङ डाइरेक्टर । सन् २०१० मा दर्ता भएको वेद इन्टरनेशनलले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई परामर्श गर्दै आइरहेको छ । म यो संस्थासँग आवद्ध भएको २०१३ देखि हो । एउटा शैक्षिक परामर्शदाता हुनका लागि आवश्यक पर्ने नेपाल सरकारको मान्यता प्राप्त ट्रेनिङ (TITI) लिइसकेको छु । युनिएजेन्टबाट सर्टिफाइ एजेण्ट हुँ । न्युजिल्याण्डको लागि ENZ ट्रेनिङ लिएको छु । अष्ट्रेलियाको ISANA  ट्रेनिङपनि लिइसकेको छु । 

नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानुको कारण नेपालको शैक्षिक अवस्था राम्रो नभएर हो या विदेशमा धेरै अवसर पाएर ? 

नेपालको शैक्षिक प्रणाली, अवस्था कमजोर भएकै कारण नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको भन्न मिल्दैन । तर केही कमी कमजोरी छन् । विशेषगरी नेपालको शैक्षिक प्रणाली परम्परागत छ । योग्यता अनुसारको काम पाउन मुश्किल छ । त्यसैले नेपाली विद्यार्थीहरुमा वैदेशिक मोह बढेको हो । 

खासगरी शैक्षिक संस्कृति आदानप्रदानका लागि हो विदेश जाने । त्यहाँको शिक्षा विश्वमा प्रतिस्पर्धा गर्न सक्ने हुन्छ । नेपालमै मात्र बसेर विश्वमा के भइरहेको छ ? भन्ने थाहा हुँदैन । व्यवसायिक रुपमा नयाँपन ल्याउन वैदेशिक शिक्षा आवश्यक छ । 

अर्को कुरा उच्च शिक्षाका लागि विदेश गइसकेपछि विद्यार्थीहरु आत्मनिर्भर पनि बन्छन् । त्यहाँ गइसकेका विद्यार्थीहरु आफ्नो लागि आफैँ खर्च उठाएर पढ्न सक्ने हुन्छन् । यो पनि फाइदाको एक पक्ष हो । नेपालमा हो भने ब्याचलर, मास्टर नसकुन्जेलसम्म अभिभावकमा नै निर्भर भइरहेको अवस्था छ ।   

विदेशमा त्यहाँको रहनसहन र प्रविधिबारे राम्रो अध्ययन अनुसन्धान गर्न सकियो भने नेपालमा आएर धेरै राम्रो गर्न सकिन्छ । विदेशमा दीक्षित भएका युवाको शिक्षा, सीप, अनुभव र ज्ञानलाई नेपालमा सदुपयोग गर्न सकियो भने त सुनमा सुगन्ध हुन्छ । यसमा राज्यले पनि जोड दिनुपर्छ ।   

तपाई कहाँ आएका विद्यार्थीको मनस्थिति कस्तो पाउनुहुन्छ ? उनीहरुको प्राथमिकता कमाउने हुन्छ या पढ्ने ?   

गत वर्ष र यो वर्षको प्रवृत्ति तुलनात्मक हिसाबले निक्कै फरक छ । गत वर्षको कुरा गर्ने हो भने धेरै विद्यार्थीहरुमा स्वदेशप्रति केही हदसम्म वितृष्णा देखिन्थ्यो । ‘नेपालमा केही गर्न सकिएन, यहाँ बसेर केही हुँदैन, विदेश गइयो भने धेरै कमाइ हुन्छ’ भन्ने सोच राखेर यहाँ आउने विद्यार्थीको संख्या धेरै थियो ।   

यो वर्ष भने हामीले विद्यार्थीको सोचमा केही हदसम्म परिवर्तन आएको पाएका छौं । अहिलेका विद्यार्थीहरु पढ्नकै लागि जाने भन्ने दृढ सोच बनाएर आएकाछन् । विदेशमा अध्ययन गरी नेपाल फर्किएर केही गर्नुपर्छ भन्ने सोच विद्यार्थीमा विकास भइरहेको छ ।   

पछिल्लो समय ABROAD STUDY मा गएका विद्यार्थीमा नेपाल फर्केर केही गर्छु भन्दापनि उतै सेटल हुन्छु भन्ने सोच विकसित भएको देखिन्छ नि ? 

यो एकदमै गलत हो । विदेश भन्नेबित्तिकै नेपालीहरु अष्ट्रेलिया, अमेरिका मात्रै बुझ्छन् । नेपालबाट अध्ययनका लागि भारत, बंगलादेश, चीन लगायतका देशमा जाने विद्यार्थीहरु पनि त छन् । उनीहरु फर्किँदैनन् त ? फर्किरहेका छन् नि ! 

होला, यदाकदा अमेरिका, अष्ट्रेलियाको हेर्ने हो भने केही हदसम्म विद्यार्थीहरु नफर्किएको, उतै सेटल भएको देख्न सक्छौँ । अहिले अष्ट्रेलियाको ट्रेन्ड हेर्ने हो भने परिवर्तन भइरहेको छ । पछिल्लो समय अष्ट्रेलियामा अध्ययन गरेका विद्यार्थी नेपाल फर्किएर राम्रो व्यवसाय गरेर बसेको उदाहरणहरु पनि धेरै छन् हामीसँग ।   

ABROAD जाने विद्यार्थीका लागि कुन–कुन विषय उपयुक्त हुन सक्छन् ?   

इमान्दार, मेहनती विद्यार्थीका लागि जुनसुकै विषय उपयुक्त हुन्छन् । भविष्यप्रति जिम्मेवार विद्यार्थीले जुनसुकै क्षेत्रमा प्रगति गर्न सक्छ र, गरिरहेका पनि छन् । मुख्य कुरा विद्यार्थीको रुचि केमा छ त्यसले निर्धारण गर्छ ।   

नेपाली विद्यार्थीका लागि आइटी, बिजनेस, अकाउन्टिङ, नर्सिङ लगायतका विषय उपयुक्त हुनसक्छन् । पछिल्लो समय विद्यार्थीको रोजाई र विषय अनुसारको कार्यक्षेत्र बहुमुखी छ । आइटी नै हेर्ने हो भने नेटवर्क सेक्युरिटी, इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ लगायत विद्यार्थीको रोजाईमा छन् ।   

विज्ञान संकायमा जाने होभने जुलोजी, माइक्रोबायोलोजी, केमिस्ट्री, वातावरणीय विज्ञान, एनाटोमी लगायत विषयमध्ये एउटै विषयमा मात्रै जाने विद्यार्थीको संख्या बढेको छ ।   

विदेशमा पढेर नेपाल फर्किएर केही गर्छु भन्ने विद्यार्थीको लागि विशेषगरी इन्फरमेशन टेक्नोलोजीमा पनि भविष्य छ । अष्ट्रेलिया, अमेरिकामा आइटी पढेका विद्यार्थीहरु नेपाल आएपछि यहाँपनि राम्रो काम गर्न सक्छन् । आम्दानी राम्रो छ । एउटा सफ्टवेयर मात्रै बनाएर त्यसलाई विश्वव्यापी रुपमा बिक्री गर्न सक्छन् । उनीहरुको कमाइ पनि अष्ट्रेलिया, अमेरिकामा भएको भन्दा दोब्बर हुनसक्छ । सबैभन्दा धेरै स्कोप आइटीमै देखिन्छ ।   

ABROAD जाने विद्यार्थीले के–के कुरामा ध्यान दिनुपर्छ ? 

ABROAD STUDY मा जाने विद्यार्थीले सर्वप्रथम आफ्नो आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्छ । आफूलाई कुन विषय पढ्दा सहज हुन्छ, कुन विषयमा राम्रो गर्न सक्छु जस्तो लाग्छ, त्यही अनुसारको विषय छनौट गर्नुपर्छ । र यसको खर्च उठाउन सक्छु कि सक्दिन भनेर वित्तिय योजना बनाउनुपर्छ । त्यसपछि कुन देश जाने हो, त्यो देशको अवस्थाबारे बुझेर कन्सल्टेन्सीमा जाने हो भने विद्यार्थीलाई विदेशमा समस्या नहुन सक्छ ।   

त्यस्तै कन्सल्टेन्सी र काउन्सलर (परामर्शदाता) छनौटमा विशेष ध्यान दिनुपर्छ । आफूलाई काउन्सलर र कन्सल्टेन्सीले सही दिशानिर्देश गरेको छ या छैन, आफूलाई चाहिएको कुरा उसले दिएको छ छैन त्यो बुझ्नुपर्छ । र, आफ्नो क्षेत्रमा विज्ञ काउन्सलर रोज्नुपर्छ । त्यसका लागि काउन्सलरको शैक्षिक पृष्ठभूमि हेर्नु आवश्यक छ ।   

यसकासाथै परामर्शदाताले नेपाल सरकारबाट लिनुपर्ने टीआइटीआइ ट्रेनिङ लिएको, कन्सल्टेन्सी शिक्षा मन्त्रालयमा दर्ता भएको छ छैन त्यो पनि हेर्नुपर्छ ।   

उच्च शिक्षाका लागि विदेश गएका विद्यार्थीमा डिप्रेसन बढेको देखिन्छ । यसको कारण के हो ? 

विदेशका विद्यार्थीहरुमा डिप्रेसन बढ्नुको मुख्य कारण भनेको सपना हो । उनीहरुले सपना ठुल्ठुला देखेका हुन्छन् । तर, उताको यथार्थ फरक पर्छ । उनीहरु सजिलै पढ्दै, धेरै कमाउँछु भन्ने सोच राखेर विदेश जान तयार हुन्छन्, तर, वास्तविकतामा त्यो मुश्किल छ । पढ्दै काम गर्न गाह्रो छ । यही फरक यथार्थले डिप्रेसनको शिकार हुन्छन् । कमाउनका लागि पहिले पढाइ पुरा गर्नुपर्यो नि ! यदी विद्यार्थीले ‘मैले पहिले पढ्नुपर्छ, पढाइ पुरा गर्नुपर्छ’ भन्ने सोच राख्ने हो भने यस्तो समस्या आउँदैन ।   

दोस्रो कुरा यसमा अभिभावकको पनि भूमिका हुन्छ । उहाँहरुको आर्थिक अपेक्षा धेरै हुन्छ । विद्यार्थीहरुमा दबाब दिन्छन् । अनि उनीहरु न पढ्न सक्छन्, नत कमाउन नै । त्यसैले हामीकहाँ आएका विद्यार्थीका अभिभावकलाई पहिले नै यो विषयमा सचेत गराउँछौं ।   

अभिभावकले आर्थिक पक्षलाई जोड दिने रहेछन्, काउन्सेलिङ गर्ने बेलामा तपाई विद्यार्थीको आर्थिक पक्ष हेर्नुहुन्छ कि शैक्षिक योग्यता ?   

हामी आर्थिक र शैक्षिक पक्ष मात्र होइन आर्थिक, शैक्षिक र सामाजिक पक्षलाई ध्यान दिन्छौं । हाम्रो संस्थामा पढ्नका लागि विदेश जान्छु भनेर विद्यार्थी आउँछन् । हामी विद्यार्थीलाई  ब्दचयबम को फाइदा मात्रै होइन, बेफाइदा र कमीकमजोरीहरु सहितको परामर्श गर्छौं । 

सर्वप्रथम त विद्यार्थीको शैक्षिक योग्यता हेर्छौं । उनीहरुको प्रतिशत कति छ, कुन विषय पढेका छन् र के मा जाँदा उत्कृष्ट नतिजा हात पार्न सक्छन्, खुलस्त पार्छौं । त्यस्तै आर्थिक पक्षमा परिवारको आम्दानी जान्नु आवश्यक पर्छ । यूनिभर्सिटी छनौट गर्दा यो पक्ष हेर्नु अत्यावश्यक छ । त्यसैले हामी त्यो बारेपनि बुझ्छौं ।   

कतिपय अवस्थामा त्यहाँ वरिपरिको समाजले असर पार्न सक्छ । जस्तै आर्थिक योजना बनाउन, घुलमिल हुन, खर्चमा नियन्त्रण गर्न, कामको सन्दर्भ लगायतमा त्यहाँको समाजले भूमिका खेलेको हुन्छ । कसैले ‘यस्तो कामपनि गर्ने ?’ भनेर होच्यायो भने विद्यार्थीमा हिनताबोध हुनसक्छ । त्यसैले हामी सामाजिक पक्षलाई पनि स्थान दिन्छौं ।   

अधिकांश अभिभावकले भने आर्थिक पक्षलाई जोड दिएर कति खर्च लाग्छ, कति आम्दानी हुन्छ भनेर परामर्श लिनुहुन्छ । तर, हामी उहाँहरुलाई झुटो आर्थिक प्रलोभनमा पार्दैनौं । पढ्न गएका विद्यार्थीमा आम्दानीको प्रेसर नदिनपनि अभिभावकलाई सचेत गराउँछौं ।   

वेद इन्टरनेशनलले कुन–कुन देशमा विद्यार्थी पठाइरहेको छ ?   

हामीले अहिले अष्ट्रेलिया र अमेरिकालाई विशेष प्राथमिकतामा राखेका छौं । अब युके र न्युजिल्याण्डमा पनि तत्कालै लञ्च गर्दैछौं ।   

अष्ट्रेलिया र अमेरिका नै रोज्नुको कारण के हो ? अन्त सोर्स–फोर्स नभएर हो या उत्कृष्ट शैक्षिक गन्तव्य भएर हो ? 

विश्वकै गन्तव्यको तालिका हेर्ने हो भने नम्बर एकमा अमेरिका छ । विद्यार्थीहरुको इच्छा पनि पहिला अमेरिका छ । दोस्रोमा यूके पर्छ र, तेस्रोमा अष्ट्रेलिया छ । सरकारी नीति हेर्ने हो भने उत्कृष्ट गन्तव्य अष्ट्रेलिया नै हो । त्यहाँ शिक्षण शुल्क पनि सुरक्षित हुन्छ ।   

त्यस्तै अष्ट्रेलियाको अर्को राम्रो पक्ष भनेको त्यहाँको प्राविधिक शिक्षा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नेछ । पढाइपछि दुई–तीन वर्ष विद्यार्थीले एक्ध् खष्कब (पढाइ सकिएपछि काम सिक्न–गर्नका लागि दिइने एक प्रकारको भिजा) पाउँछन् । यो अवसरले उनीहरुलाई आफ्नो लागत उठाउन सहज हुन्छ ।   

नेपालमा अवसरका हिसाबले अझैपनि महिला–पुरुषबीच विभेद छ, अष्ट्रेलियामा कस्तो छ ? 

अष्ट्रेलियामा महिला र पुरुषबीच विभेद छैन । योग्यता अनुसार समान अवसर छ । योग्यता छ भने, राम्रो सेक्टरमा महिलाले बाजी मार्न सक्छन् ।   

कुनै कुनै ठाउँमा शारीरिक हिसाबले त अलिकति असर गरिहाल्छ । जस्तै, निर्माण क्षेत्रको कुरा गरौँ जहाँ महिलालाई बल धेरै पर्छ । त्यसैले त्यस्तो ठाउँमा पुरुषले नै काम गर्नुपर्ने हुन्छ । हेरचाहको क्षेत्रमा प्रायः महिलालाई रोजिन्छ । त्यसलाई विभेद भन्न मिल्दैन ।   

अष्ट्रेलिया र अमेरिकाको भिजा प्रक्रिया कस्तो छ नि ?   

अमेरिकाको प्रक्रिया एकदमै सजिलो र सहज छ । व्यक्तिगत रुपमा अध्ययन गरेर, प्रत्यक्ष अन्तर्वार्ता गर्नुपर्ने हुन्छ ।   

अष्ट्रेलियाको प्रक्रिया अलि गाह्रो छ । डकुमेण्टको एक लेभलको सिस्टम उनीहरुले बनाइदिएको छ । त्यो सिस्टम अनुसार सबै डकुमेन्ट बुझाउनुपर्छ । डकुमेन्टमा हेर्ने भनेको आर्थिक, सामाजिक पक्ष र शैक्षिक योग्यता हो । अष्ट्रेलियाको भिजा सक्सेस रेट राम्रो छ ।   

तपाईको संस्थाबाट अष्ट्रेलिया, अमेरिका गएका विद्यार्थीको प्रतिक्रिया कस्तो छ ?   

उनीहरुबाट हामीले राम्रो प्रशंसा पाइरहेका छौं । हामीले परामर्श गरेका ९७ प्रतिशत विद्यार्थीहरु राम्रैसँग अध्ययन गरेर बसिरहेका छन् । ९० प्रतिशत विद्यार्थीहरु हामीसँग सन्तुष्ट छन् ।   

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीले वेद नै किन रोज्ने ?   

पहिलो कुरा त हामी आफ्नो फाइदा हेरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दैनौं । दोस्रो भनेको वेदको टीम विद्यार्थीलाई सही परामर्श दिन सक्षम छ । हाम्रा काउन्सलरहरु पनि आ–आफ्नो क्षेत्र, विषयमा दक्ष हुनुहुन्छ, शिक्षित हुनुहुन्छ । विद्यार्थीको भविष्यप्रति हामी सचेत छौं । विद्यार्थीको सामाजिक, शैक्षिक र आर्थिक पक्षलाई राम्रोसँग केलाउन हामी सक्षम छौं । धेरै वर्षको अनुभव छ हामीसँग । 

हामीले अहिले अष्ट्रेलिया र अमेरिकालाई फोकस गरिरहेका छौं । उताको वातावरणसँग हामी भिजिसकेका छौं । हामीलाई त्यहाँको बारेमा विस्तृत ज्ञान छ । हामीले सक्षम विद्यार्थीलाई विभिन्न यूनिभर्सिटीमा २० प्रतिशतसम्म छात्रवृत्ति मिलाइरहेका छौं ।  त्यहाँ हामीबाट गएका विद्यार्थी धेरै छन् । उनीहरुले यहाँबाट गएका विद्यार्थीहरुलाई गाइड गरिरहेका छन् । यो नयाँ विद्यार्थीका लागि फाइदाको कुरा हो ।   

ABROAD STUDY मा जाने विद्यार्थीलाई के सुझाव दिनुहुन्छ ?   

ABROAD जानु भनेको सामान्य कुरा होइन । यो एकदमै साहसी निर्णय हो । त्यहाँ चुनौती छन् र अवसर पनि छन् । यसको लागि राम्रो तयारी गर्नैपर्छ । सामाजिक, आर्थिक र शैक्षिक तीन पक्षलाई हेरेर, विश्लेषण गरेर मात्रै विद्यार्थीले निर्णय लिनु उत्तम हुन्छ ।   

कुन देश आफ्नो लागि सही गन्तव्य हो, त्यहाँ आफ्नो शैक्षिक र आर्थिक योग्यता पुग्छ पुग्दैन त्यो विद्यार्थीले नियाल्नु पर्छ, ताकि भविष्यमा जोखिम मोल्नु नपरोस् ।   

कन्सल्टेन्सी र काउन्सलर छनोटमा विशेष ध्यान दिन आग्रह गर्न चाहन्छु । काउन्सलर, आफूले छनोट गरेको देश, आफ्नो लागि उत्कृष्ट छ छैन प्रमाणित गर्नुस् । परामर्शदाताले आफूलाई सही गाइड गरेको छ छैन विचार गर्नुपर्छ । ललाई फकाईमा नपर्नुस् ।   

मेरै संस्थामा आउनुहुन्छ भनेपनि मैँले बोलेका हरेक कुरा गुगलमा सर्च गरेर प्रमाणित गर्न सक्नुहुन्छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + four =