पुरातात्विक धरोहरलाई जिवन्त राखी काम गर्न विज्ञको सुझाव

पुस १४, काठमाडौं । विश्व सम्पदा क्षेत्रमा परेको क्षेत्र वरिपरिका भवन, मन्दिरलगायत निर्माण पुनःनिर्माण गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा आज आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा विज्ञ इन्जिनियरले पुरातात्विक मूल्य मान्यतालाई जीवन्त राख्ने गरी ती ठाउँका भवन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै इन्जिनियर घनश्याम पौडेलले पुरातत्वमैत्री मूल्य मान्यताहरुलाई स्वीकार गर्ने योजनाका साथ काम गर्नुपर्ने बताए । लुम्विनीको मायादेवी मन्दिरको डिजाइनसमेत गरेका इन्जिनियर पौडेलले पुरातात्विक सम्पदाहरुलाई नष्ट गर्न नहुने जिकिर गरे । ‘पुरातात्विक धरोहरहरु हाम्रा संस्कृति हुन् यिनको संरक्षण गर्न आवश्यक छ ।’ उनले भने ।
विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रमा भवन, मन्दिर निर्माण पुनःनिर्माण गर्दा युनेस्कोको प्रावधानबारे इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई जानकारी दिन पुगेका उनले त्यो प्रावधान पुरा गर्न नयाँं पुस्ताका इन्जिनियर सचेत हुनुपर्ने बताए ।
पौडेलले कार्यक्रममा त्यो प्रावधान पुरा गर्न के कस्ता चुनौती आउन सक्छन् र आर्किटेक्ट, इन्जिनियरहरुले कसरी फेस गर्नुपर्छ भन्नेबारे जानकारी पनि दिएका थिए ।
नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले इन्जिनियर पौडेललाई मायाको चिनो प्रदान गरे । भक्तपुर दुवाकोटमा अवस्थित नेपाल इन्जिनियरिङ कलेज इन्जिनियरिङ शिक्षामा नेपालकै उत्कृष्ठ कलेजका रुपमा परिचित छ ।








