हतारमा थिएनन् सी, सबैसँग संवाद गर्न चाहन्थे

असोज २७, काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् ।
बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो उनलाई कुनै हतारो थिएन र उनी सबैसँग संवाद गर्न चाहन्थे ।
अति विशिष्ट कक्षबाहिर निस्कनेबित्तिकै उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सलाम गरेका थिए । लगत्तै सीले थपासँग कुराकानी गरे । साथमा रहेकी राष्ट्रति भण्डारी मुस्कुराइन् ।
स्कुलका बालबालिकाले गरेको बिदाइलाई चासो दिँदै सीले रोकिएर आफ्नो प्रतिक्रिया दिए । बालबालिकाले चिनियाँ भाषामा भनेका थिए – धन्यवाद, बाईबाई । सीले पनि आफ्नो हात उठाउँदै बाईबाईको संकेत गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।








