सरकारले स्वदेशमै रोजगारी दिन्छ, रेमिट्यान्सको लोभ छैनः प्रधानमन्त्री
चैत २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्ने दाबी गरेका छन् ।
काठमाडौंमा बुधबारबाट सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रम ओलीले सबै नेपाली युवाहरुलाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्ने बताए ।
null
‘वर्तमान सरकारलाई रेमिट्यान्सको लोभ छैन । केही वर्षभित्रै सरकारले सबै नेपाली युवालाई नेपालभित्रै रोजगारीको अवसर प्रदान गर्नेछ,’ उनले भने ।
कार्यक्रममा बोल्दै प्रम ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई जनतामा भ्रम नछर्न चेतावनी दिए । ‘मुलुक समृद्धिको अभियानमा केन्द्रित भएको छ । उन्नत लोकतन्त्र समाजवादतर्फ उन्मुख भएको छ । पाँच वर्ष भित्र मुलुकबाट भोकमरी अन्त्य गर्ने गरी सरकारले काम गरिरहेको छ । यस्तोमा सरकारले अधिनायकवाद लाद्यो भन्नु गलत हो । यदि कांग्रेसले यस्ता झुटा प्रचार गरिरहने हो भने जनताले पत्याउन छोड्छन्’, प्रम ओलीले भने ।
पटक–पटक अल्पमतको सरकारबाट दिक्क भएर नागरिकले बहुमतको सरकार बनाएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘सबै तहका सरकार जनताको विश्वास जितेर आएका हुन् । अरुसँग मिलेर सरकार ढाल्ने परिपाटीको पनि अन्त्य भएको छ । यस्तो परिपाटीबाट वाक्क भएर नागरिकले बहुमतको सरकार बनाएका हुन् ।’
नेकपा अध्यक्ष समेत रहेका प्रम ओलीले सरकारले एक वर्षभित्र धेरै काम गरेको बताए । ‘एक वर्षका बीचमा झोलुङ्गे पुलहरु बनेका छन्, तुइनहरु फालिएका छन् । यो सरकार गफ गर्न बनेको होइन, काम गर्न बनेको हो’, उनले भने ।