सोह्र श्राद्धः कागवेनीमा पिण्डदान गर्न अवरोध, ब्राम्ह्णसँग मासिक एक लाख माग

भदौ ३०, काठमाडौं । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति विश्व हिन्दु महासंघ नेपालले मुस्ताङमा अवस्थित प्रशिद्ध मुक्तिनाथ क्षेत्रको कागवेनी कालीगण्डकी तटमा पिण्डदान गर्न नदिएकोमा विरोध जनाएको छ । प्राचिनकालदेखि हुँदै आएको श्राद्ध गर्ने परम्परालाई अवरोध सिर्जना गरिएको घटनालाई सामान्य रुपमा लिन नसकिने संघको भनाइ छ ।
संघका अनुसार आश्विन कृष्ण पक्ष प्रारम्भ भएको पहिलो दिन र हिजो दोस्रो दिनमा मात्रै लाखौँको संख्यामा भक्तजनहरु कागवेनी मुक्तिनाथ आइसकेका छन् ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ यात्रापछि भारतीय तीर्थयात्रीहरुको समेत उल्लेखनीय रुपमा वृद्धि भइरहेको धार्मिक पावन भूमिमा श्राद्ध गर्न मासिक एक लाख रुपैयाँ ब्राम्हणहरुले तिर्नुपर्ने नत्र श्राद्ध कर्म गर्न नपाइने जस्ता विषय उठाएर अवरोध गरिनुलाई सनातन परम्परामाथिको अतिक्रमण हो भन्ने हाम्रो ठहर छ’, संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भगवान नारायण विष्णुको शरिरबाट आएको पसिनाबाट पानीको मुल फुटेको र सोही पानीको १०८ धारा मुक्तिनाथ धाममा रहेको धार्मिक किंवदन्ती छ । सोही १०८ धारामा स्नान गरी मुक्तिनाथको दर्शन गरेमा पुण्य मिल्ने धार्मिक विश्वास रहिआएको छ । प्राचिन कालमा नै भगवान नारायण विष्णुको मुर्ति भएपनि हालको मन्दिर वि.सं.१८७१ मा स्थपना भएको हो ।








