देशको आर्थिक अवस्था जस्तो छ, राष्ट्रपतिलाई त्यही सुहाउँदो सेवा गर्न चाहन्छन् जनता

पुस २९, काठमाडौँ । कांग्रेस सांसद मिनेन्द्र प्रसाद रिजालले प्रधानमन्त्रीको अभिव्यक्तिको टिप्पणी गरेका छन् ।
पुस २२ गते प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एउटाले बिराउँदा सिंगो संस्था बदनाम हुनेमा सचेत होऊँ, मर्यादा रहेन भने लोकतन्त्र धराशायी हुन्छ’ भन्ने अभिव्यक्ति राखेका थिए ।
null
सोही अभिव्यक्तिमाथि व्यंग्य गर्दै सांसद रिजालले भने, ‘केही दिन अगाडी प्रधानमन्त्रीज्युले सम्बोधनमा भन्नुभयो, जानी नजानी हामीमध्ये कोही कसैबाट कमी भएको छ भने सच्चिउँ, यो भन्दा सुन्दर अभिव्यक्ति के हुन सक्छ । अनुरोध छ प्रधानमन्त्रीज्यू यो अभिव्यक्तिलाई सुनाउने मात्रै होइन, आफू सुन्नु पनि होला । राम्रोसँग सुनिएन भने ऐना अगाडी उभिएर आफूलाई सुनाउनुहोला ।’
त्यस्तै सांसद रिजालले १८ करोडको गाडी, डेढ अर्बको हेलिकप्टरमा राष्ट्रपति चढाउने सरकारको निर्णयले भोग विलासको जीवनमा पुरानो दरबार भन्दा नयाँ दरबार झन् अगाडी देखिएकाे आरोप लगाए ।
‘भोग र विलासको बिम्ब बनाएर लाने सरकारको निर्णयबाट संस्था बलियो हुँदैन । गणतन्त्र बलियो हुँदैन । देशकाे आर्थिक अवस्था जस्तो छ । राष्ट्रपतिलाई त्यही सुहाउँदो सेवा गर्न चाहन्छन् नेपाली जनता ’, सांसद रिजालले भने ।
उनले बुद्धिजीवीलाई लखेटेर, कर्मचारीलाई तर्साएर, पत्रकारको पेशागत स्वतन्त्रतामाथि आक्रमण गरेर, संवैधानिक अंगलाई निस्तेज बनाएर लोकतन्त्र बलियो नहुने स्पष्ट पारे ।
रिजालले प्रधानमन्त्रीले झुटो अभिव्यक्ति दिएको पनि आरोप लगाए । उनले ४ महिनामा आयात ३६ प्रतिशतले बढेको र वस्तु व्यापार घाटा ४ सय ५५ अर्ब भएको उल्लेख गरे ।
‘विदेशी विनिमय सञ्चितीकरण घटेको छ, विप्रेषणको आम्दानीले धानेको छ भन्नुभयो । हो, विप्रेषणको आय बढेको छ । तर भर्खरै जानेले पठाउन थालेको हो कि पहिलेकै सरकारका पालामा गएकाले पठाएको विप्रेषणको आम्दानी हो ? तथ्यांकलाई तथ्यांककै रुपमा प्रस्तुत गरे हुन्छ’, सांसद रिजालले भने ।
आइतबारको प्रतिनिधिसभा बैठकमा उनले नेप्से परिसूचक झण्डैँ ३०० अंकले घट्न थालेको बताए ।
झापामा भ्यु टावर बनाउने सरकारको योजनाप्रति व्यङ्ग्य गर्दै रिजालले भने, ‘काठमाडौँको खाल्डोबाट देशको स्थिति देखिएन होला, त्यसैले प्रधानमन्त्रीज्यूले झापामा भ्यू टावर बनाउने भन्नुभाछ । माफ गर्नुस् प्रधानमन्त्रीज्यू खाँबो बाङ्गो छ, तपाईंले देखेजस्तो देशको स्थिति छैन । झापाको भ्यू टावरमा चढेपनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ ।’








