मिक कम्प्युटर प्रालिले निशुल्क कम्युटर तालिम दिने
पुष १५, धरान । धरानमा रहेको मिक कम्प्युटर प्रालिले पाँच सय २५ जना गरिब तथा विपन्न वर्गका युवाहरुलाई निशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएको छ ।
मिकद्वारा आईतबार पत्रकार सम्मेलनगरि सो विषयमा जानकारी गराइएको हो । मिकका प्रबन्ध निर्देशक राजकुमार थोप्राका अनुसार मिकले गएको २६ वर्षदेखि कम्प्युटर सम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको छ । हालसम्म ३५ हजार बढीलाई कम्प्युटर शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गरिसकेको छ ।
उनले भने ‘हामीले विगत वर्षदेखि सञ्चालन गर्दै आएको आर्थिक रुपमा विपन्न भएका कारण कम्प्युटर शिक्षा लिनबाट बन्चित युवाहरुलाई यसपाली पनि निशुल्क तालिम सञ्चालन गर्दैछौ ।’
मिक कम्प्युटर प्रालिको प्राविधिक सहयोग र स्वीस नेपालको आर्थिक सहयोगमा सञ्चालन हुने तीन महिने तालिममा बेसिक, हार्डवेयर, डिटीपी, डाटाबेस, मल्टिमिडिया, ग्राफिक्स डिजाइनीङ, वेभ डिजाइन, र्याली र सर्भर नेटवर्किङ विषयहरु रहेको सम्मेलनमा जानकारी दिइएको थियो ।
निःशुल्क सिक्न चाहनेले फारम भरी अन्तर्वार्तामा छनौट हुनुपर्ने तथा छनौटमा नपरेका लाई हरेक विषयमा लाग्ने शुल्क मध्ये ७५ प्रतिशत छुट दिइने जानकारी गराइएको थियो । यस वर्षको प्रशिक्षण कार्यक्रम माघ १९ गते आइतबार देखि सुरु हुनेछ ।