दुर्घटनामा परी दुईको मृत्यु, एक घाइते
पुस १४, काठमाडौँ । छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आईतबार साँझ मोरङको धनपालथान गाउँपालिका ४ कर्सियास्थित को १ त ७८४३ नम्बरको ट्याक्टरले को ३८ प १७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सुनसरी दुहवी नगरपालिका ११ पचिरा बस्ने १८ वर्षीय रुपेश चौधरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका रुपेशको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
उक्त स्कुटरमा सवार दुहवी नगरपालिका ११ पचिरा बस्ने १७ वर्षीय चन्द्र प्रकाश चौधरी भने घाइते भएका थिए । घाइते प्रकाशको को सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आईतबार साँझ नै सप्तरी, बोदेबर्साईन नगरपालिका २ बैरीयास्थित स १ त ६९९३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भर्इ दुर्घटना हुँदा खड्क नगरपालिका ११ बनौली बस्ने ३० वर्षीय चालक किसुन मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
दुबै दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।