‘काँग्रेसको राजनीतिक संघर्ष सत्ता प्राप्तिका लागि होइन’

लिस्बन, असोज ५ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको राजनीतिक संघर्ष सत्ता प्राप्तिका लागि नभइ देश र जनताका लागि भएको बताएका छन् ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहिबार लिस्बनमा आयोजना गरेको नेपालमा संघीयताको कार्यान्वयन, चुनौती र नेपाली काँग्रेसको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा उनले काँग्रेसको राजनीतिक संघर्ष सत्ता प्राप्तिका लागि नभएर नेपाली जनताको न्याय, देशको उन्नति र समृद्धिका लागि भएको बताएका हुन् ।

राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले काँग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने बताए ।

मुलुकको परिवर्तनमा विपीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै नेता पौडेलले निमुखालाई न्याय र विपन्नलाई आय नै विपीको असली समाजवाद भएको विचार व्यक्त गरे । देशमा संविधान र सङ्घीयता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै नेता पौडेलले एकल जातीय आधारमा सङ्घीय राज्य बन्न नसक्ने धारणा राखे ।

चुनावमा पार्टीले भोग्नुपरेको पराजयको समीक्षा हुनुपर्ने धारणा राख्दै उनले चुनावमा काङ्ग्रेसले हारे पनि सिद्धान्तको विजय भएको बताए । उनले पार्टी नेतृत्वबाट भएका त्रुटि सुधार गरेर पार्टीभित्र देखिएका गुटउपगुट, विकृति र विसङ्गतिको अन्त्य गरी पार्टीलाई सुधार गर्नुपर्ने खाँचो औँल्याए ।

एक पटकको नेपाली सधैँको नेपाली भएको भन्दै नेता पौडेलले नेपालमा लगानीको अवसर र वातावरण बनेकाले विदेशमा सिकेको ज्ञान, सीप, कला र पूँजी लिएर स्वदेश फर्कन प्रवासी नेपालीलाई आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =