निलम्बित विष्टसहित ३ जनाको रगत डीएनए परिक्षणका लागि पठाइयो

काठमाडौं, भदौ २८ । निर्मला हत्या प्रकरणमा दिनप्रतिन नयाँ तथ्यहरु फेला परिरहेका छन् र पनि प्रहरी मौन जतिकै छ । घटनाको ५० औँ दिन पुगिसक्दा पनि हत्यारा कारबाहीमा पर्न सकेको अवस्था छैन ।

शंकाको घेरामा परेका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परिक्षण सुरु गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीन जनाको डीएनए परीक्षण सुरु गरेको हो । एसपी विष्ट कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख हुन् । गृह मन्त्रालयमा बसेको बैठकले भदौ ९ गते एसपी बिष्टलाई निलम्वन गर्ने निर्णय गरेको थियो।

नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक हरिहर वस्तीसहितको टोली डिएनए परीक्षणका लागि गठन गरिएको छ।

गत साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय किशोरी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव उखुबारीमा भेटिएको थियो।

प्रहरीले करिब एक महिना लगाएर गरेको अनुसन्धानपछि दिलिपसिंह विष्टलाई अभियुक्त बनाएर सार्वजनिक गरेपनि स्थानीयवासीले मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरी वास्तविक हत्यारा लुकाउन खोजेको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

डीएनए परिक्षणमा निर्दोष ठहर भएपछि दिलिपसिंह सरकारी वकिल कार्यालयको सहमतिमा जिम्मा जमानीमा छुटिसकेका छन्। भने बम दिदीबहिनी पनि ३० हजार धरौटी बुझाएर छुटिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =