४० लाख चल्ला नष्ट गरी बढाइयो कुखुराको मासु र अण्डाको मूल्य

पुस १०, काठमाडौं । कुखुराको मासु र अण्डाको मूल्य वृद्धि भएको छ ।
नेपाल अण्डा उत्पादक संघले मंगलबारबाट लागु हुनेगरी संघले अण्डाको मूल्य बढाएको हो । मूल्य वृद्धिसँगै अण्डा प्रतिक्रेट २९० पुगेको छ । यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य २७५ रुपैयाँ थियो ।
यस्तै मध्यम खालको अण्डाको मूल्य २५५ रुपैयाँबाट बढाएर २७५ पुर्याइएको छ । चिसोमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने तथा लागत मूल्य नै उठाउन धौधौ हुने भएका कारण मूल्य बढाइएको संघका अध्यक्ष शिवराम केसीले बताए ।

यता अण्डाको मूल्य बढाएको भोलिपल्टै राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य बढेको एकसाता नबित्दै कुखुराको मासुको पनि मूल्य बढाएको छ । संघको बैठकले सो निर्णय गरेको हो ।
एक साताअघि संघले प्रतिकिलो २५० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २० रुपैयाँ बढाएर संघले २७० रुपैयाँ तोकेको थियो ।
बुधबार पुनः संघले मूल्य वृद्धि गरेपछि कुखुराको मासुको मूल्य प्रतिकिलो २८५ रुपैयाँ पुगेको छ । काठमाडौंमा बुधबारदेखि उपभोक्ताले कुखुराको मासु खरिद गर्दा २९५ रुपैयाँ तिर्नुपर्छ । संघले तोकेको मूल्यमा १० रुपैयाँ थपेर उपभोक्ताले किन्नुपर्ने हुन्छ ।
नेपाल ह्याचरी उद्योग संघले केही दिनअघि चिकेन होलिडेका नाममा कुखुराका करिब ४० लाख चल्ला नष्ट गरेको थियो । नष्ट गरेलगतै कुखुराको मासु र अण्डाको मूल्य बढेको हो ।








