ईसालाई बदनाम गर्ने काम नगरौं (सम्पादकीय)

पुष ९ काठमाडौं । करिब २ हजार वर्षअघि जन्मिएका जिसस क्राइस्ट ईसा धर्मका प्रवर्तकका रुपमा चिनिन्छन् । परमपिता परमेश्वर,परमेश्वरको पुत्र र पबित्र आत्मा यी तीन कुरा ईसाई त्रिमूर्तिका रुपमा मानिन्छन् । 

ईसाको जन्म २ ईसा पूर्वमा इजरायलको नासिरत प्रान्तको बेतलेहम गाउँमा कठिन परिस्थितिमा भएको विश्वास गरिन्छ । उनी कुमारी आमाबाट जन्मिएका थिए । पछि उनकी आमाले नामका लागि मात्रै यूसुफसँग विवाह गरेकी थिइन् ।   

बाइबलका अनुसार मरियमलाई उनको कोखबाट इश्वपुत्रको जन्म हुनेछ भनेर इश्वरको सन्देश प्राप्त भएको थियो । यहूदी धर्मका प्रवद्र्धकहरुले युगौं पहिले एक उद्धारक या मुक्तिदाताको पुनः अवतरण हुने भविष्यवाणी गरेका थिए । ईसा र उनको परिवार जन्मजात यहूदी थिए । यही भविष्यवाणी सत्य सावित भएको मान्छन् जिसस क्राइस्टको जन्मलाई ईसाईहरु  ।   

संसारको जुनसुकै सम्प्रदाय धर्मको अनुयायी भएपनि उनीहरुलाई आफ्नो धर्मको सत्य स्विकार्न अत्यन्त कठिन हुन्छ । वर्तमान समय धार्मिक कट्टरतताको प्रतिस्पर्धामा गाँजिएको छ । यही मेसोमा अगाडि आएको धार्मिक सम्प्रदायमा पर्छ ईसाई धर्म । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेसँगै अहिले ईसाई धर्म अङ्गाल्नेको लर्काे लागेको छ । खासगरी यसमा दलित समुदाय र नाजुक आर्थिक अवस्था भएका तथा विपन्न परिवारहरु धर्म परिवर्तन गर्न अगाडि देखिएका छन् ।   

अन्य धर्मावलम्बीले त्यत्ति धेरै धर्मपरिवर्तन गर्न गराउन उत्प्रेरणा नगराएपनि ईसाई धर्मावलम्बीहरुले भने संगठित रुपमै धर्म परिवर्तनको अभियान चलाइरहेका छन् ।   

आफ्नो स्वविबेक भन्दापनि प्रलोभनमा उनीहरु धर्म परिवर्तन गरिएको खबर आउने गरेको छ भने, कतै कतै जबरजस्ती पनि गरिएका घटना सार्वजनिक भएका छन् । केही महिना अघिमात्रै पोखरा र बुटवलमा धर्मको प्रचार गर्ने र प्रलोभन देखाएर धर्म परिवर्तन गर्न लगाउने कार्य भएको भन्दै प्रहरीले पाँच विदेशीसहित सात जनालाई पक्राउ गरेको थियो । त्यती मात्रै हैन एनजिओमा जागिर मिलाई दिन्छु भन्दै काठमाडौंको सितापाईलामा एक महिलालाई धर्म परिवर्तन गराउँन लगाइयो । यही आरोपमा तीनजना महिलालाई काठमाडौं प्रहरीले पक्राउ पनि ग¥यो ।   

सबै धर्मप्रति समान आदर गर्ने, कुनै धर्माबलम्वीप्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीतिलाई धर्मनिरपेक्षता भनिन्छ । धर्मनिरपेक्षता भनेको धर्मको विरोध होइन, धर्मदेखि स्वतन्त्र हुने हो । तर, धार्मिक स्वतन्त्रताको नाममा अहिले खुलेआम धर्म परिवर्तन गराउने गिरोह नै सक्रिय भएका छन् ।   

हरेक व्यक्तिलाई आफु कुन आस्थामा बाच्ने ब्यक्तिगत स्वतन्त्रता र अधिकार हुन्छ ।   

तर अहिले क्रिश्चियन धार्मिक सम्प्रदायका व्यक्तिहरु खुलेआम विभेद र असम्पन्नताका कुरा उठाउँदै विशेषगरि विकट गाउँहरुमा धर्म परिवर्तन गराउँदै हिँडेका भेटिन्छन् । क्रिश्चियन धर्मलाई राम्रो र अन्य धर्मलाई नराम्रो भनेर व्याख्या गर्र्दै सोझा मानिसहरुलाई उनीहरुको आस्था विपरित धर्म परिवर्तन गराउनु कदापी जायज हैन । तर, नेपालका ग्रामिण दुरदराजमा रहेका कमजोर आर्थिक अवस्था भएका, दलित अल्पसंख्यक समुदायमा खुलेआम क्रिश्चियन धर्मका अगुवाले प्रलोभन देखाएरै धर्म धर्मपरिवर्तन गराईरहेका छन् ।   

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सीबी गहतराजले जबरजस्ति धर्म परिवर्तन नगराएको भनेपनि प्रहरीले विभिन्न ठाउँबाट जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेकालाई पक्राउ गरेको आधारमा नेपालमा पञ्चायती शासन ब्यवस्थासँगै भित्रिएका क्रिश्चियन धर्माबलम्वीहरुको उद्देश्य प्रष्ट हुँदै गएको छ ।   

ख्रीष्टियानिटीलाई विश्वब्यापी बनाउने अभियानमा जबरजस्ति धर्मपरिवर्तन गरिँदा अन्य धर्मावलम्बीको अस्तित्व नै संकटमा नपर्ला भन्न सकिन्न ।   

धर्म परिर्वतनमा अगुवाले मुख्य रुपमा प्रयोग गर्ने भनेको प्रलोभन हो । केहिले धनसम्पत्तिको प्रलोभन देलान्, केहिले शिक्षा स्वास्थ्यका कुरा गर्लान् । त केहिले जातिप्रतिको असमान ब्यवहारलाई आधार बनाउछन् । नेपाली समाजमा आर्थिक, सांस्कृतिक, सामाजिक विभेदहरु अझैपनि विद्यमान छ । धर्म परिवर्तनको मिसनमा लागेकाहरुले यीनै विषयलाई आधार बनाएर मानवीय संवेदनामाथि धर्म परिवर्तनको ताण्डव गरिरहेका छन् । जुन नेपालको संविधान विपरित कार्य हो ।   

बाटोमा बसेर धर्मको प्रचार गर्नुदेखि घर–घरमा पुगेर बाईबल र ईसा भन्दा ठूलो कोही छैन भन्नु र अन्य धर्मलाई हेपेर बोल्नु सरासर गलत हो ।   

ख्रीष्टियन महासंघका अध्यक्ष गहतराजले नै आफ्नी आमालाई क्यान्सर हुँदा डाक्टरले बचाउन नसकेकोर क्रिश्चियन भएकै कारण जिससको प्रार्थना गर्दा बचाउन सकिएको भन्ने धारणा राख्नुले क्रिश्चियन धर्ममा लागेमात्रै रोग र मृत्युदेखि बच्न सकिन्छ भन्ने भ्रम पनि पर्न गएको बुझिन्छ । यसरी धर्मलाई स्वास्थ्यसँग जोडेर धर्म परिवर्तन गर्नु भनेको ठूलो अपराध नै हो ।   

कुनैपनि धर्मावलम्बीलाई आफ्नो आस्था र धर्मको प्रचारप्रसार गर्न पाउने संबैधानिक अधिकार छ । तर, अरु धर्मका बारेमा गलत कुरा गर्न र होच्याउने अधिकार भने छैन । क्रिश्चियन धर्माबलम्वीले धर्मको प्रचारप्रसार गलत तरिकाले गर्दै आइरहेका छन् । क्रिश्चियन धर्ममा लागे रोग निको हुने, दुखः कष्ट समाप्त हुने, राम्रो रोजगारी पाउने, धनसम्पत्ति पाउने भनेर प्रलोभन दिनु कदापी राम्रो हैन । क्रिश्चियन धर्म र बाइबलको प्रचारप्रसार गर्दा विभिन्न ठाउँबाट धर्म प्रचारकहरु यस्तै गलत कृयाकलापका कारण पक्राउ परेका हुन् ।   

येशु स्वयं हिन्दु र बौद्ध धर्मका अनुयायी भनिएको छ । जब स्वयं येशु अन्य धर्मका अनुयायी थिए भने उनका अनुयायीहरुले अरु धर्मलाई कसरी निन्दा गर्न सके ? क्रिश्चियन धर्मका अगुवाहरुले अहिलेसम्म उत्तर दिन सकिरहेका छैनन् ।   

जसले जे भनेपनि धार्मिक आस्था कुनैपनि ब्यक्तिको स्वतन्त्र अधिकारको कुरा हो । कोही जन्मजातै हिन्दु छ र पछि उसले स्वइच्छाले अन्य धर्म अंगाल्छ भने त्यो ठिक छ तर, जबरजस्ती वा कुनै प्रलोभनमा पारेर धर्म परिवर्तन गराइन्छ भने त्यो धार्मिक स्वतन्त्रता विरोधी कार्य हुन जान्छ ।   

नेपाल हिन्दु राष्ट्र भएको अवस्थामा पनि अन्य धर्माबलम्वीलाई समान दृष्टिकोणले हेरेको थियो । ०६४ सालमा धर्मनिरपेक्ष राष्ट्र भएपछि पनि समान दृष्टिकोण नै राखेको छ । धर्मनिरपेक्षताको सारलाई राज्यले अंगिकार गरिरहँदा कुनै धर्मका अनुयायीले अर्को धर्माबलम्वीलाई गलत नियतले हेर्दछ भने राज्यले पनि संविधानले प्रदत्त गरेको अधिकार प्रयोग गरी कानुनी दायरामा ल्याउन आवश्यक छ ।   

जुनसुकै धर्मको सार भनेको सबैलाई समान ब्यवहार गर्नु हो । सच्चा अनुयायीले धर्मको सारलाई गलत ब्याख्या गर्दैन । क्रिश्चियन धर्मका अनुयायीले पनि यो कुरा बुझ्नु पर्दछ ।   

येशु ख्रिष्टले सबैलाई सद्बुद्धि दिउन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =