प्याब्सन स्पोर्ट्स मिटको उपाधि ब्राईट फ्युचरलाई

पुस ६, बिराटनगर । बिराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिटको उपाधि सुन्दर हरैँचाको ब्राइट फ्युचर सेकेण्डरी स्कूलले हात पारेको छ ।
प्याब्सन मोरङको आयोजनामा शनिबार ११ औं संस्करण सम्म आइपुग्दा उक्त स्कूलले पाँचौ पटक उपाधि जितेको हो । ब्राइट फ्यूचर स्कूलले ६ स्वर्ण, २ रजत र १ कास्य गरि ३८ अंक ल्याउँदै उपाधि हात पारेको हो ।
साबिक बिजेता सुन्दर हरैँचाको पूर्वाञ्चल एकाडेमीले ३ गोल्ड, १ रजत र १ कास्य ल्याउँदै २० अंकका साथ दोस्रो स्थान सुन्दर हरैँचाकै मदरल्याण्ड स्कूलले ३ स्वर्ण र १ रजतका साथ १८ अंक ल्याउँदै तेस्रो तथा सुन्दर हरैँचाकै सिद्धार्थ से.बो. स्कूलले १ स्वर्ण, २ रजत र १ कास्यका साथ १७ अंक ल्याउँदै चौथो स्थान हात पारेका छन् ।

शनिबार नै भएको १५ सय मिटर छात्रतर्फ सनरे स्कूलका हरि खवासले स्वर्णं, वाल प्रतिभाका भीम श्रेष्ठले रजत र सिद्धार्थका किशोर रेडले कास्य पदक हात पारे भने सिद्धार्थकी प्रमिसा मगरले स्वर्ण, जुपिटरकी इसा उराँवले रजत र सारदाकी रुपम ठाकुरले कास्य पदक जितेकी छिन् ।
त्यस्तै ४ गुना ४ सय मिटर रिले दौडको छात्रतर्फ व्राइट फ्युचरले स्वर्ण, इस्टन भ्यूले रजत र वाल प्रतिभाले कास्य पदक जितेका छन् भने छात्रातर्फ सुन्दर हरैँचाको पूर्वाञ्चल एकाडेमीले स्वर्ण, जुपिटरले रजत तथा सिद्धार्थ स्कूलले कास्य पदक जितेका छन् ।
त्यस्तै १ सय मिटर दौडको छात्रतर्फ इन्द्रपुरका आभास न्योपानेले स्वर्ण पदक, जनकका रोहित विश्वासले रजत र जुलारीका शुसिल खड्काले कास्य पदक जितेका छन् भने छात्रातर्फ डिएभीकी खुशी लुनियाले स्वर्ण, जनकी सुप्रिया माझीले रजत, र राष्ट्र निर्माणकी अनु आलेले कास्य पदक जितेका छन् । सोहि अवसरमा पूर्व खेलाडी तथा प्रशिक्षकद्वय मदनकुमार साह र सुनिल लालवानीलाई सम्मान समेत गरिएको छ ।
तीन दिनसम्म सञ्चालन भएको स्पोर्ट्स मिटमा बिभिन्न खेलहरू समावेश गरिएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । प्याब्सन् स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, कक्षा १०, ११ र १२ लागि छुट्टाछुट्टै भलिबल प्रतियोगिता पनि समावेश गरिएको थियो । छात्र र छात्रा दुबै तर्फ भलिबल कप हुनेछ । १ सय ५१ वटा प्याब्सनसँग आवद्ध विद्यालयहरुबाट करिब २ हजार भन्दा बढी खेलाडी विद्यार्थीहरूको प्रतियोगितामा सहभागि रहेको प्याब्सन मोरङका सचिव प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
भलिबलमा प्लस टुसम्मको छात्रतर्फ मोर्डन एराले स्वर्ण, सुनगाभाले रजत र कान्तीपुरले कास्य पदक जितेको छ भने छात्रातर्फ लर्डबुद्धले स्वर्ण, एभरेष्ट पथरीले रजत र कान्तीपुरले कास्य पदक जितेको छ ।
त्यस्तै कक्षा १० सम्म छात्रतर्फ विकेभिएमले स्वर्ण, नोवेल एकाडेमीले रजत र सनरे स्कूलले कास्य पदक जितेको छ भने छात्रातर्फ रेड स्टारले स्वर्ण, ब्राइट फ्युचरले रजत र इन्द्रपुर स्कूलले कास्य पदक जितेका छन् ।
प्रतियोगिता भरी ४ स्वर्ण ल्याउँदै ब्राइट फ्यूचर स्कूलका सुजन चौधरी छात्र तर्फ उत्कृष्ट खेलाडि घोषित भए भने छात्रा तर्फ ३ स्वर्ण ल्याउँदै सुन्दर हरैंचाकै मदरल्याण्ड एकाडेमीकी रमा दाहाल घोषित भइन् ।
स्पोर्ट्स मिटमा १ सयदेखि १५ सय मिटरसम्म दौड, रिले, लङ्गजम्प, हाइजम्प, त्रिपल जम्प, सटपुट, ज्याबलिङ्ग थ्रोलगायतको खेलहरू समावेश गरिएको छ ।








