स्टाफ नर्समा जागिर दिने भन्दै वीपीका सहायक अस्पताल निर्देशकद्वारा युवतीलाई प्रलोभन

माघ ४, धरान । उपचारमा लापरवाही भएपछि गम्भिर भएकी एक विरामीका आफन्तलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक अस्पताल निर्देशकले जागीरको प्रलोभन दिएका छन् । 

५ महिनाअघि सर्पले डसेर उपचारका लागि प्रतिष्ठान ल्याइएकी बराहक्षेत्र नगरपालिकाकी देवी राई (तामाङ) चिकित्सकको लापरवाहीका कारण गम्भिर भएकी थिएन् । 

गत भदौ १२ गते साँझ सर्पले डसेको २० मिनेटमै प्रतिष्ठानको इमरजेन्सीमा ल्याइपुर्याएकी देवीको उपचारमा सम्लग्न डा. महेश सिलवालले उपचारमा ढिलाई गर्दा उनलाई Hypnotic Brain Injury भएको थियो । 

null

 

उनको उपचारमा ती चिकित्सकले लापरवाही गरेको भन्दै विरामीकी छोरी २३ वर्षिय प्रतिक्षा तामाङले उपचारमा संलग्न चिकित्सकलाई झिकाई अनुसन्धानसँगै कारवाही र क्षतिपूर्ति समेत दिलाउन ४ महिना अघि नै निवेदन दिएपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन । 

निवेदक प्रतिक्षाले बारम्बार घटनाको छानविन गर्न माग गरेपछि सहायक अस्पताल निर्देशक डा. विकास साहले घटना मिलाउन र डाक्टरलाई बचाउन उल्टै जागिरको प्रलोभन दिएको बताइन् । ‘पहिला डा. महेश सिलवाललाई झिकाएर अनुसन्धान गर्छौं भन्थे, अहिले घटना विर्सिदेउ, आमाको उपचारका लागि २० हजार नगद, ह्विल चेयर, अक्सिजन दिन्छौं, तिमी स्टाफ नर्समा फर्म भर पास गराउने जिम्मा मेरो भन्छन्’ उनले भनिन् । 

प्रतिक्षाले सहायक अस्पताल निर्देशकले बारम्बार मिल्न आग्रह गर्दै आर्थिक प्रलोभन दिइरहेको जिकिर गरिन्–उहाँले मलाई मिल्न दवाव दिइरहनु भएको छ, मलाई जागिर भन्दापनि मेरो आमाको ज्यानको मायाँ छ, जसले गल्ती गरेको छ त्यसलाई कारवाही हुनुपर्छ ।’ उनले मकालु खबरसँग भनिन् । 

 

धरान ९ स्थित धरान डेण्टल हस्पिटलमा नर्सिङ पेशामा कार्यरत प्रतिक्षाले प्रतिष्ठानमा स्टाफ नर्सका लागि विगत २ पल्ट दरखास्त दिएपनि परीक्षामा पास हुन सकेकी थिएनन् । यो थाहा पाएर अस्पताल निर्देशकले आमालाई प्रतिष्ठानबाट अन्यत्र लैजान भन्दै भर्खरै खुलेको स्टाफ नर्समा पास गराइदिने प्रलोभन दिएका हुन् । 

 

उनले आफु प्रतिष्ठानमा जागिर नखाने तर, आमाको उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने बताएकी छिन् । ‘अहिलेसम्म मेरो आमाको उपचारमा २० लाख भन्दा बढि खर्च भयो, अरु कति हुन्छ थाहा छैन, विरामी माथि खेलवाड गर्ने अधिकार डाक्टरलाई छैन,’ उनले भनिन्–‘म चाहन्छु त्यो डाक्टरले के कसरी लारवाही गर्यो, सयतथ्य पत्ता लगाएर कारवाही हुनुपर्छ ।’ उनले भनिन् । 

अहिले देवी तामाङको उपचारमा संम्लग्न ती डाक्टर नै प्रतिष्ठानमा नभएको स्रोतको दावि छ । 

 

प्रतिष्ठानले केहि समय अघि १२० जना स्टाफ नर्स माग गरेको छ । प्रतिष्ठानमा भइरहेको अनियमितता र भ्रष्टाचारका सन्दर्भमा छानविन चलिरहँदा स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई पत्र काटेर प्रतिष्ठानलाई दिर्घकालिन असर पर्ने कुनैपनि नियुक्ति, भर्ना तथा सरुवा प्रक्रिया नगर्नु भनेपनि त्यसको विपरित प्रतिष्ठानले धमाधम स्टाफ नर्सको दरखास्त खुलाएको छ । 

 

प्रतिष्ठान स्रोतले दिएको जानकारी अनुसार अहिले प्रतिष्ठानका सहायक निर्देशक डा. साहले स्टाफ नर्समा पास गराउने भन्दै विभिन्न विद्यार्थीबाट मोटो रकम उठाउँन थालेका छन् । उनले अहिले प्रति विद्यार्थी एक देखि डेढ लाख रकम उठाउने योजना बनाएका छन् । ‘१२० जान नर्स मागिएको छ, जसमा दिउसै वार्गेनिङ चलिरहेको छ । यसले प्रतिष्ठानलाई दिर्घकालिन असर गर्छ ।’ प्रतिष्ठानका एक पदाधिकारीले भने । 

यस विषयमा प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहसँग सम्पर्क गर्न उनको मोवाइलमा बारम्बार फोन गर्दा पनि सम्पर्क हुन सकेन । प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले समेत फोन उठाएनन् । 

गत भदौ १२ गते सुनसरी बराहक्षेत्र नगरपालिका बस स्टेन्डकी गंगा देवी राई (तामाङ) लाई राती साढे ८ बजे सर्पले डस्यो, उपचारका लागि सर्पले डसेको करिब २० मिनेटमा प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याईयो । 

प्रतिष्ठानको आकस्मिक कक्षमा डा. महेश सिलवालको अगूवाईमा गंगादेवीको उपचार सुरु भयो । उपचार सुरु भएको केही समयमा नै उनकी छोरी प्रतिक्षा तामाङ (जो ‘धरान डेन्टल हस्पिटल’ मा नर्सिङ पेशामा कार्यरत) इमरजेन्सी आइपुगिन् । सर्पले डसेर ल्याएकी आमालाई वेडमा अचेत अवस्थामा राखिएको र उपचारमा इमरजेन्सीका चिकित्सकले कुनै तदारुकता नदेखाएको पाइन् । सामान्यतयः सर्पले टोकेपछि विरामीलाई ‘एन्टी स्नेक भेनम’ छिटोभन्दा छिटो दिनुपर्ने हुन्छ । 

 

तर, देवी राई (तामाङ) लाई इमरजेन्सीमा ल्याइएको एक घण्टासम्म पनि उपचार सुरु गरिएन । आमाको स्वास्थ्य झन गम्भिर बन्दै गएपछि प्रतिक्षाले आफुलाई सर्पले डसेपछि तत्काल के गर्ने सामान्य जानकारी भएको भन्दै चिकित्सकलाई ‘स्नेक भेनम’ दिन आग्रह गरिन् । तर, इमरजेन्सीमा उपचाररत चिकित्सक डा. महेश सिलवालले नै सर्पले टोकेको कुनै सिन्ड्रोम नदेखिएको भन्दै सामान्य प्रकारको Adrenaline मात्र प्रयोग गरी ‘स्नेक भेनम’ दिन मानेनन् । 

समयमा स्नेक भेनम नदिएपछि देवीलाई Cardiac Arrest भयो । त्यसपछि १३ मिनेट सम्म CPR गरेर सामान्य सुधार भएपछि थप उपचार आइसियूमा राखेर गर्नुपर्ने र त्यसका लागि विराटनगर लैजान भनियो । छोरी प्रतिक्षा भन्छिन्–‘हतारहतार आमालाई विराटनगरको ग्रिनक्रस अस्पतालमा रिफर गरे, सामान्य किसिमको अस्पतालमा उपचार हुन नसक्ने भएपछि विराट नर्सिङ होममा लगेर तत्कालै स्नेक भेनम दिएर उपचार सुरु गर्दा एक हप्ता पछि आमाको आँखा खुलेको छ । अझैपनि उहाँको स्वास्थ्य गम्भिर छ’ 

छोरी प्रतिक्षाका अनुसार स्नेक भेनम ढिलो दिएर उपचार सुरु गर्दा आमालाई Hypnotic Brain Injury भएको र Bronchoscopy गर्दा Tracheamalacia समेत भएको हो । आमाको उपचारमा हालसम्म २० लाख बढि खर्च भएको छ । सामान्य आर्थिक अवस्थाकी प्रतिक्षाले आमालाई प्राइभेट अस्पतालमा राखेर उपचार गर्न नसक्ने भएपछि पुनः वीपी प्रतिष्ठानमा ल्याइन् । 

हाल प्रतिष्ठानको मेडिसिन विभागको युनिट ३ को बेड नं. ३ मा उपचाररत देवीको स्वास्थ्यमा अझैपनि सुधार आउन सकिरहेको छैन । चिकित्सकले उनको उपचारमा धेरै समय लाग्ने बताएका छन् ।प्रतिक्षाले प्रतिष्ठानका तत्कालिन इमरजेन्सीमा कार्यरत चिकित्सक डा. महेश सिलवाल लगायत टोलीको लापरवाहीले आफ्नी आमाको स्वास्थ्य विग्रिएको दावि गर्दै चिकित्सक माथि छानविन गर्न र आमाको उपचार गरी खर्च क्षतिपूर्ति समेत दिलाई पाउँ भनी गत कार्तिक १४ गते सँगै २ पटक प्रतिष्ठानमा निवेदन दिइन् । 

त्यसको २ दिनमै सहायक अस्पताल–निर्देशक लगायतले छलफलका लागि बोलाउँदै २ दिन पछि उपचारमा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्ने भने । तर, अहिले चार महिना पुग्दा समेत कुनै सुनुवाई भएको छैन । ‘कारवाही सहित क्षतिपूर्ति दिलाई आमाको उपचार गराइपाउँ भनेर निवेदन दिएको पाँच महिना भयो,सहायक निर्देशक डा. विकास साहसँग गएर आग्रह गर्दा २/४ दिन भन्दै महिनौ टारिसक्नु भयो’ उनी भन्छिन् ‘अहिले आएर २० हजार पैसा, ह्विल चेयर र अक्सिजन सेट दिन्छौं यहाँबाट आमालाई लैजाउ भन्छन् । म आर्थिक अवस्था कमजोर भएकीले आमालाई कहाँ लगेर उपचार गराउँ ?’ 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु हुनु नौलो कुरा हैन । भ्रष्टाचारले थिलोथिलो बनेको प्रतिष्ठानको स्वास्थ्य सेवा विगत डेढ वर्षदेखि कमजोर बनेको छ । 

प्रतिष्ठानमा काम गर्ने दक्ष चिकित्सकहरुको अभाबमा जुनियर रेजिडेन्ट चिकित्सकले उपचार सेवा दिनुपरेको छ । तथापि, भ्रष्टाचारमा लिप्त प्रतिष्ठानका पदाधिकारीहरुले स्वास्थ्य सेवा सुधारका लागि कुनै पहल गर्न सकिरहेका छैनन् । जसले गर्दा सामान्य विरामी भएर प्रतिष्ठानमा उपचारका लागि आउने विरामीले समेत सास्ती खेप्नु परिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =