ग्लोबल टी-२० मा सन्दीपको टिम पहिलो खेलमै पराजित

एजेन्सी । क्यानाडामा सुरु भएको ग्लोबल टी–२० क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम टोरन्टो नेसनल्स पहिलो खेलमै पराजित भएको छ । गएराति भएको उद्घाटन खेलमा टोरन्टोलाई साविक विजेता भ्यानकुभर नाइट्सले ८ विकेटले पराजित गरेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनायो । युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोका लागि क्लासिन र रोद्रिगो थोमसले समान ४१–४१ रन बनाए । जवाफमा १६० रनको लक्ष्य भ्यानकुभरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि भान देर डुसेनले ६५ रन तथा चाडविक वाल्टोनले ५९ रनको योगदान दिए ।
null
यो खेलमा टोरन्टोका लागि नेपाली बलर सन्दिपले खेलेका थिएनन् । उनी सिंगापुरमा जारी विश्वकप टी–२० एसियाली छनोट चरणको खेलमा नेपालका लागि खेलिरहेका कारण टोरन्टोमा तत्काल आवद्ध हुन नसकेका हुन् । सिंगापुरमा भइरहेको प्रतियोगिता सकेर उनी क्यानाडा जाने छन् ।








