बुद्ध पावर कम्पनीले उर्जामन्त्रीलाई बुझायो मौसम मापन केन्द्रसम्बन्धी प्रतिवेदन

 

काठमाडौं, ११ बैशाख । बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई हस्तान्तरण गरेको छ । 

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त कम्पनीले यसबारे जानकारी गराएको हो । बुद्ध पावर कम्पनीका सञ्चालक पुष्पराज तिमिल्सिनाले आफूहरुले उक्त प्रतिवेदन, अनलाईन मापन केन्द्र उर्जामन्त्री वर्षमान पुनलाई उनकै कार्यकक्षमा हस्तान्तरण गरेको जानकारी दिए । 

null

उनकाअनुसार आजबाट मौसम मापन केन्द्रले हरेक १० मिनेटमा रेकर्ड गर्ने मौसम रिपोर्ट जलवायु तथा मौसम विज्ञान विभागका माहानिर्देशक सरजु वैद्यमार्फत विमानस्थल लगायत सम्पूर्ण सरकारी कार्यालयहरुका कम्प्युटरमा जडान गरिएको छ । 

उनले भने, ‘बुद्ध पावर कम्पनीले पछिल्लो दुई वर्षमा पहिलो व्यवसायिक मौसम मापन स्थल (केन्द्र) पहिलो उन्नत वायु तथा सौर्य उर्जा स्थल (केन्द्र) विकास गरी मुस्ताङमा सञ्चालन गरेको हो । मौसम मापन स्थल (केन्द्र) ले मुस्ताङ उपत्यकाको मौसमसम्बन्धि जानकारी हरेक १० मिनेटमा अनलाइनमार्फत दिन्छ ।’ 

उनले मौसम मापन केन्द्र र उन्नत वायु तथा सौर्य केन्द्र मुस्ताङ जिल्लाको जोमसोमस्थित् जिल्ला प्रहरी कार्यालयमा राखिएको पनि जानकारी दिए । 

तत्कालिन नेकपा एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१७ को अगष्टमा उद्घाटन गरेको उक्त उन्नत वायु तथा सौर्य केन्द्रले प्रहरी कार्यालयलाई प्रशस्त पुग्ने विजुली उत्पादन गरिरहेको पनि तिमिल्सिनाले जानकारी दिए । उनले भने,‘सञ्चालनमा आएको एक वर्ष ७ महिना दश दिनसम्म पनि कुनै समस्या आएको छैन ।’ 

त्यसैगरी, मौसम मापन केन्द्र सञ्चालन गरेदेखि मुस्ताङ उपत्यकाको प्रत्येक १० मिनेटको मौसमसम्बन्धि रिपोर्ट अनलाइनमार्फत् बुद्ध पावरको कार्यालय पोखरा र युरोपको स्पेनमा रहेको कम्प्युटरमा समेत संकलन भइरहेको उनले जानकारी गराए । उनका अनुसार हालसम्म उक्त स्टेसनले निरन्तर रुपमा मौसम सम्बन्धि वास्तविक जानकारी दिँदै आएको छ । 

उनले पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले मुस्ताङ उपत्यकाको अन्य स्थानहरुमा पनि धेरै प्रकारका ठूला–साना यस्ता परियोजना सञ्चालन गर्न सकिने विश्वास दिलाए । उनले भने, ‘मुस्ताङका साथै अन्य हिमाली जिल्लामा पनि अनलाइन मौसम मापन केन्द्र सञ्चालन गर्न र सँगै उन्नत वायु तथा सौर्य र भौगर्भिक उर्जामार्फत बिजुली उत्पादन गर्न सकिन्छ ।’ 

आफूहरुको कम्पनीले प्राविधिक तथा व्यवहारिक अध्ययनमार्फत् तयार पारेको मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकाससम्बन्धि प्रतिवेदनले दीर्घकालिन उर्जा विकासमा टेवा र्पुयाउने विश्वाससमेत लिएको तिमिल्सिनाको भनाई छ । 

आफूहरु नेपालका अरु थुप्रै दुर्गम जिल्लामा १० वटा अनलाईन मौसम मापन केन्द्र बनाउन तयार रहेको समेत उनले जनाए । उनले थपे, ‘यसले अर्को एक वर्षमा दिएको रिपोर्टको आधारमा नेपालका हिमाली दुर्गम जिल्लामा मेघावाटस्तरीय उन्नत वायु तथा सौर्य एवं भौगर्भिक उर्जा उत्पादन गर्न सकिने छ ।’ 

मौसम मापन केन्द्रले दिने डाटाबाट विशेषगरि नागरिक उड्ययन प्राधिकरण, मौसम तथा जलवायु विज्ञान विभाग, नेपाल विद्युत प्राधिकरण, वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र जलविद्युत विकास कम्पनी लिमिटेडलाई बढि उपयोगी हुनेपनि कम्पनीले जनाएको छ । 

कार्यक्रममा कम्पनीका अध्यक्ष स्पेनिस नागरिक राफेल भिनास पिचले नेपाल सरकारले आगामी दिनमा यस्तै अन्य परियोजना अगाडि बढाउन अनुमति दिए उक्त परियोजना संचालन गर्न आफूहरु तयार भएको जानकारी दिलाए । उनले बुद्ध पावर कम्पनीमार्फत नेपालमा आफूहरूले विकास निर्माणका अन्य परियोजनामा पनि लगानी गर्ने विश्वास दिलाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =