१६ किलो सुन काण्ड: गुरुङलाई पुर्पक्षका लागि थुनामा

भाद्र २०, गोरखा । गएको साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका गोरखाको धार्चे गाउँपालिका–३ केरौँजाका धनकमल गुरुङलाई जिल्ला अदालत गोरखाले पुर्पक्षका लागि थुनामा पठाइएको छ। 

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। “थुनछेक बहसपछि थुनामा राखेर कारबाही अघि बढाउन अदालतले दिएको आदेशानुसार उनलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए । 

केरौँजाका व्यवसायी गुरुङ ओढारमा आफैंले लुकाएर राखेको १६ किलो सुनसहित पक्राउ परेका थिए। सुन लुकाएर आफू अपहरणमा परेका भनी बेपत्ता भएका गुरुङको खोजतलास गर्दा सुन लुकाएर फरार भएको खुल्न आएपछि उनलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो। 

पक्राउ परेका गुरुङविरुद्ध राजश्व अनुसन्धान विभागले बुधबार मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको थियो। उनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता भएको छ। 

जिल्ला प्रहरी कार्यालय गोरखाले सुनसहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो। रासस 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =