पाँच महिनामै तयार भयो हावाहुरी प्रभावितको आवास, सेनाद्वारा ८ सय ६९ घर हस्तान्तरण

भदौ १८, काठमाडौं । गएको चैत १७ गते भीषण वर्षासँगै आएको हावाहुरी (टोनार्डो) बाट प्रभावित बारा–पर्साका स्थानीयले घर पाएका छन् ।
बुधबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बारा पर्साका हावाहुरी प्रभावितको घर बनाउने जिम्मा पाएको नेपाली सेनाले कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई नमूना घर हस्तान्तरण गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले ८ सय ६९ हावाहुरी प्रभावित परिवारलाई घर हस्तान्तरण गरेका हुन् । लगतै रक्षामन्त्री पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई नमूना घर हस्तान्तरण गरेका हुन् ।
प्रभावितका लागि २ वटा कोठा, एउटा शौचालय, सानो भान्साकोठा र बरण्डा भएको ३४८.६ वर्गफिटको आकर्षक घर निर्माण भएको छ । हाल हावाहुरीबाट प्रभावितहरू नयाँ घरमा बस्न थालिसकेका छन् ।

गएको चैत्र १७ गते आएको हावाहुरीमा परी २८ जनाको मृत्यु भएको थियो भने ५ सय भन्दा बढी घाइते भएका थिए ।








