ब्राजिल कोपा अमेरिकाको फाइनलमा, मेस्सीको प्रहारले चुमेन जाली

एजेन्सी । घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २-० ले पराजित गर्दै ब्राजिल फाइनलमा पुगेको हो । खेलको १९ औं मिनेटमा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनोलाई दिएको पासमा फिर्मिनोले पेनाल्टी क्षेत्रभित्र दिएको लो क्रसलाई जेससले गोलमा परिणत गरेका थिए । 

 

खेलको ३० औं मिनेटमा अर्जेन्टिनाले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर गुमायो । कप्तान लिओनेल मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई सर्जियो अगुएरोले गरेको हेडर प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि ३६ औं मिनेटमा मेस्सीले दिएको पासमा अगुएरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिल्भाले छेकेका थिए । दोस्रो हाफको सुरुवात देखिनै अर्जेन्टिनाले ब्राजिललाई दबाबमा राखेको थियो । 

null

लगातार केहि असफल आक्रमणपछि ५७ औं मिनेटमा कप्तान मेस्सीले झन्डै १० यार्ड टाढाबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । त्यसको रिबाउन्डमा मेस्सीले दिएको क्रसलाई अगुएरोले गोलमा परिणत गर्न सकेनन् । ब्राजिलले ७१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनायो । काउन्टर अट्याकमा अगाडी बढेको ब्राजिलका लागि रोबर्टो फिर्मिनोले गोल गरे । उनले जेसेसले दिएको पासलाई गोलमा परिणत गर्दै ब्राजिललाई फाइनलनजिक पुर्याएका थिए । 

खेलको अन्तिम समय दुवै टोलीका खेलाडी पटक पटक आक्रामक रुपमा देखिएका थिए । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा रेफ्रीले ७ पहेंलो कार्ड देखाएका थिए । थप समयमा गोल हुन नसकेपछि ब्राजिल फाइनल प्रवेश गर्यो । ब्राजिलले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै प्रतियोगितामा कुनै गोल नखाएको सिलसिला कायम नै राख्यो । ब्राजिलले उपाधिका लागि अब चिली र पेरुबीच हुने विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =