साझालाई दिएको ३ अर्ब रुपैंया ब्याजसहित फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

माघ ९, काठमाडौं । सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।
यही माघ ६ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले साझाले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै पहिले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।
२०७६ को असार २४ र २९ गतेको निर्णय अनुसार साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारको तर्फबाट शेयरबापत ३ अर्ब रुपैयाँ लगानी गरी पैसा दिइएको थियो ।

मन्त्रिपरिषदको बैठकले विद्युतीय बस प्राविधिक विवरण लागत अनुमानसहित सर्त समेत तय गरी विद्युतीय बस खरिदका लागि भौतिक तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको बिहिबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले जानकारी दिए ।
‘त्यसका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई ३ अर्ब दिने निर्णय गरिएको छ’ मन्त्री बास्कोटाले भने ।








