साझा दस्ताबेज बन्न चुकेको एउटा पुस्तक

“
नेपालको प्रजातान्त्रिक आन्दोलन, ०६३ सालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका, आफूलाई किसान र सहकारी कर्मी भनेर परिचय दिन मन पराउने नेपाली काँग्रेसको सिद्धान्त, मूल्य मान्यता प्रति आस्थावान दीपकप्रसाद पौडेलद्वारा लिखित तेस्रो पुस्तक ‘नेपाल किसान संघको ऐतिहासिक पृष्ठभूमि, विचार र आन्दोलन’ नामक पुस्तक अध्ययन गर्ने अवसर जुर्यो ।
काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका ८, धाइटार स्थायी घर भए पनि सहकारी अभियान तथा देशभरका किसानहरूका नाइकेका रूपमा परिचित दीपकप्रसाद पौडेलले यस अघि नै ‘लोकतन्त्र पुर्नवहालीका लागि खर्चिएका दिन’ हेर्ने मौका मिलेको थियो ।
पहिलो पुस्तक नै लोकतान्त्रिक आन्दोलनको एउटा दस्ताबेज बनेको थियो, त्यसैले पौडेलले आफ्नो कर्मप्रति समर्पित गरेर प्रकाशित गर्नुभएको दोस्रो कृति कस्तो होला ? कृषि र किसान प्रति पौडेलको धारणा कस्तो रहेछ ? नेपालको किसान आन्दोलन, त्यसमापनि नेपाली काँग्रेसले किसान प्रति हेर्ने दृष्टिकोण, २००७ साल यताका कृषि आन्दोलन यावत् विषयमा स्पष्ट हुन पनि पुस्तक पढ्नै पर्ने मनस्थिति बनाएँ ।
पछिल्तिर लहलह मकै, अघिल्तिर लेखक घुँडासम्म हिलोमा डुबेर हल गोरु नारेको (सायद धान रोप्न हिलो सम्याइरहेका) तस्बिर राखिएको रहेछ । कभर ठिकै लाग्यो । मलाई पुस्तकको बाहिरी आवरण भन्दा पनि त्यस भित्रको गुदी खोतल्ने हुटहुटी थियो । त्यसैले भित्री अवयवलाई उद्देल्न पट्टि लागेँ ।
लेखक नेपाली काँग्रेस प्रति आस्थावान तथा काँग्रेसका एक योद्धा पनि भएकोले पुस्तक प्रति काँग्रेसीहरूले शुभेच्छा र शुभकामना दिनु नौलो कुरा हैन । काँग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेपाल किसान संघका सभापति भानुभक्त सीग्देलले समेत लेखकलाई शुभकामना दिनुभएको रहेछ । एक प्रकारले खुसी लाग्यो कि, काँग्रेसले आफ्ना नेता कार्यकर्ताको सृजनशीलतालाई सम्मान गर्न जानेको छ ।
अब लागौँ पुस्तकको गुदी केलाउन तिर
नेपाल किसान संघको ऐतिहासिक पृष्ठभूमि
लेखकका नजरमा किसान
२००७ साल यताका किसान आन्दोलन
पुस्तकलाई लेखकले यी तीन विषयमा केन्द्रित गरेका छन् ।
१०४ वर्षे राणाशासनको अवसानसँगै नेपालमा किसान आन्दोलन उठेको देखिन्छ । हुन त तत्कालीन समयमा देशका ९० प्रतिशत जनता कृषिमा निर्भर भएकोले पनि स्वाभाविक रूपमा किसानहरू नै राणा शासनको विरुद्धमा उत्रिएका थिए । ०७ साल अगाडी विद्यमान शोषणकारी सामन्ती प्रथा मुखिया, जिम्मवाली, बेठवेगारी प्रथा, सुबाङ्गी र जमिनदारी प्रथा लगायतको अन्त्य हुनुपर्छ भनेर आन्दोलन गर्ने नेपाली काँग्रेसले त्यसअघि ०५ सालमै हली प्रथाको विरुद्ध आवाज उठाएको देखिन्छ । लेखकले यही विषयबाट किसानका कुरालाई उठान गर्दै लगेका छन् ।
०७ सालपछि काँग्रेसले गाउँघरमा विद्यमान असमान नापतौलहरू सुसे, माना पाथीलाई उल्मुलन गर्न अभियान नै चलाएको कुरा दर्साइएको छ । काँग्रेसले ०८ सालमै किसानहरूको हक अधिकार संस्थागत गर्न तथा कृषिमा परिवर्तन गर्न शुद्धीकरण किसान संघको स्थापना गरेको, २०१५ सालको आमनिर्वाचनबाट बनेको नेपाली काँग्रेसको सरकारले किसानका पक्षमा गरेका सुधारका कुरालाई पुस्तकले लिपिबद्ध गरेको छ । बिर्ता उन्मुलन, जमिनदारी उन्मुलन, राजा रजौटा उन्मुलन, जसको जोत उसकै पोत भन्दै धाने, चोके जस्ता बाली प्रथा हटाउने काँग्रेसको अभियानले मूर्तरूप पाएको कुरा पुस्तकमा उल्लेख गरिएको छ । यसका साथै मोहियानी हक लागू गराउन त्यसबेलाको सरकारले गाउँ गाउँ र खेतका खलामा समेत गएर मोहीलाई अन्न बुझाउने सम्मका कार्य गरेको विषय पुस्तकमा उल्लेख छ ।
दीपकप्रसाद पौडेल काँग्रेसी भए पनि पुस्तकले बोकेको विषयको गाम्भिर्यता हेर्दा उनी काँग्रेसी कलेवरबाट बाहिरिएर किसानका लेखक बन्नु पर्दथ्यो
त्यसपछि २०१७ सालमा पञ्चायती व्यवस्था आएपछि किसानको पक्षमा काँग्रेसले चालेका कदम पछि सरे, २०४६ सालको बहुदलीय व्यवस्था पछि पनि किसानका पक्षमा खासै ध्यान नदिएको काँग्रेसले ०५३ सालमा आएर ०७ सालको शुद्धीकरण किसान संघबाटै प्रभावित भएर पार्टीको भातृ सङ्गठनको रूपमा नेपाल किसान संघको स्थापना भएको कुरा पुस्तकमा उल्लेख छ ।
२०५४ साल भाद्र २९ गतेबाट किसानका हक अधिकार संस्थागत गर्नका लागि संघले २६ बुँदे माग राखी राष्ट्रव्यापी आन्दोलन सुरु गरेर किसानका पक्षमा आवाज बुलन्द गर्ने काम गरेको, ०५४ मङ्सिर २१ गतेदेखि माघ २१ गतेसम्म दुई महिनासम्म कपिलवस्तुमा रिले अनसन समेत बसेर तत्कालीन सरकारलाई किसानका माग पुरा गर्न दबाब दिएको इतिहास छ । त्यसपछि पनि संघले देशका कृषि पेसामा आश्रित ८० प्रतिशत जनताका पक्षमा आवाज मुखरित गर्ने काममा लागि रहेको इतिहास दर्साइएको छ ।
संघको प्रथम राष्ट्रिय सम्मेलन २०५६ बाट भने, कृषि क्रान्तिको दशक घोषणा गर्दै भूमि विभाजनमा रोक लगाउनुपर्ने, रासायनियक मल उन्नत र प्रसोधित बीउ, लगायतका मुद्दालाई प्राथमिकता दिएको, बाली बिमा, पशु बिमा लगायत कृषि क्षेत्रको ब्यवसायीकरणका विषयलाई उठाइएको कुरालाई लिपिबद्ध गरिएको छ । त्यस्तै संघको दोस्रो तथा तेस्रो राष्ट्रिय महाधिवेशनले उठाएका मुद्दा, ०६६ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले तय गरेका विषयलाई उल्लेख गरेका छन् ।
लेखक पौडेलले किसान संघका विषयलाई लिपिबद्ध गर्दै गर्दा ०६९ साल यता संघको निस्कृयताका कारण खुट्याएका छन् । साथै अबको संघिय संरचनामा नेपाल किसान संघलाई कसरी अगाडी बढाउनुपर्दछ भनेर लेखकीय सुझाव पनि दिएकाले पार्टी पंङ्तीका लागि यो पुस्तक संग्रहणीय छ ।
लेखक जनान्दोलन ०६२/०६३ मा नेपाली काँग्रेसबाट सक्रिय व्यक्ति भएकोले लोकतन्त्र पुनर्बहालीका लागि उनी र उनको पार्टीले खेलेको भूमिकालाई नसमेट्ने कुरा आएन । पुस्तकमा उनले तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमनका विरुद्ध किसानहरूले चालेको कदमलाई समेटेका छन् । उनले ०५९ चैत्र १३–१५ मा भएको दोस्रो महाधिवेशनले तय गरेका एजेन्डा, त्यसपछि निरंकुशताका विरुद्ध गरिएका कार्यक्रमलाई सिलसिलाबद्ध रूपमा प्रस्तुत गरेका छन् । भने, त्यसपछिका दिनमा संघले गरेका काम कारबाहीलाई समेटेका छन् । यसका अलावा लेखक अाफैं लागेर ८ पार्टीका साझा मागहरूलार्इ एउटै सुत्रमा ल्याउने प्रयास गरेका छन् ।
मैले माथि नै भने, लेखक किसान हुन्, काँग्रेसका इमानदार कार्यकर्ता तथा निक्कै सङ्घर्ष गरेका, लोकतन्त्र र प्रजातन्त्रका लागि जेलनेल भोगेका नेता हुन् । राजनीतिक, आर्थिक रूपमा निक्कै सङ्घर्ष गरेर आएका उनमा किसानका समस्यालाई आफ्नै नजरले हेर्न सक्ने क्षमता छ । तथापि, पुस्तकमा उनले त्यो क्षमतालाई भरपुर उपयोग नगरी अधिकांश पृष्ठमा नेपाल किसान संघको गुणगान मात्र गाएका छन् । समग्र कृषि क्षेत्रको अवस्था, समस्या र निराकरणका कुरालाई थोरै अंशमा समावेश गरेका छन् । कृषि क्षेत्रका समस्या, सम्भावना र व्यावसायिक कृषिलाई प्राथमिकताका विषयमा उनले जति लेख्न सक्ने, जति खोज र अनुसन्धान गर्न सक्दथे त्यो पुस्तकमा पाउन सकिन्न ।
लेखकले संघले आगामी दिनमा प्राथमिकताका साथ राखेका विषयलाई बुँदागत रूपमा उल्लेख गरे पनि ती बुँदाहरूले समग्र कृषि क्षेत्रको अवस्थालाई नियाल्न सकेको छैन । नेपालको कृषि क्षेत्रलाई हिमाल, पहाड, चुरे र तराई अन्र्तगत धरातलीय बनोटका आधारमा वर्गीकरण गरेर पकेट क्षेत्र घोषणा गरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । यसका अलावा पुस्तकले कृषि कर्ममा लागेर व्यक्तित्वलाई समेत समेट्ने कार्य गरेको छ ।
नेपालको भैगोलिक बनावटका कारण हिमाल, पहाड र तराईका किसानका छुट्टा छुट्टै समस्या छन् । ती समस्यालाई केलाउन लेखक असफल भएका छन् । आधुनिक कृषि प्रणाली अपनाउन जोड दिएका छन्, त्यसका आधार स्तंभहरु के के हुन सक्छन्, अबको कृषि प्रणाली कुन मोडलमा हुनुपर्छ प्रष्ट्याउन सकेका छैनन् ।
यसरी सरसर्ती हेर्दा ‘नेपाल किसान संघको ऐतिहासिक पृष्ठभूमि, विचार र आन्दोलन’ किसान संघ र नेपाली काँग्रेस प्रति समर्पित एउटा दस्ताबेज बन्न पुगेको छ ।
पुस्तक अध्ययन गरेपछि मेरो मनमा उठेको गहन विषय हो, लेखक किन काँग्रेसी धरातलमा मात्र रुमलिए ! किन उनी समग्र किसानका साझा लेखक बन्न सकेनन् ! किन यो पुस्तकलाई उनले पार्टी भन्दा बाहिर गएर जनताका पक्षमा, किसानका पक्षमा बनाएनन् ! मेरो मथिङ्गलमा उद्देलित भएको प्रश्न हो यो ।
पुस्तकमा लेखकले एउटा पार्टीको विचार र सिद्धान्तमा टेकेर त्यसकै कलेवरमा रहेर त्यसका सिद्धान्तलाई मात्र उठान गर्नुको सट्टा थोरै मेहनत गरेर किसानहरूको साझा दस्ताबेजका रूपमा निकालेको भए, यो पुस्तक देशको किसान आन्दोलन र कृषि क्षेत्रको लागि माइलस्टोन बन्ने थियो । इतिहास लेख्नेहरूले विगतलाई साक्षी राखेर वर्तमानको समीक्षा गर्दै भविष्य निर्धारण गर्छन् । लेखकले काँग्रेस र काँग्रेसको भातृ सङ्गठनको विगत कोट्याएर वर्तमानलाई समीक्षा गर्दै भविष्यको बाटो त कोरिदिए तर, चार तारे झन्डाबाट बाहिर निस्किएर पूर्व मेचीदेखि महाकालीसम्म गएर सबै वर्ग, क्षेत्र, समुदायका किसानका आवाजलाई एकताबद्ध गर्ने अवसरलाई भने खेर फाले । उनले रुखको छहारीबाट बाहिर रहेर हिमाल पहाड तराईमा खेती किसानी गर्नेहरूमा साझा समस्यालाई चिर्ने कोसिस गरेको भए सबैका साझा हुन्थे ।
लेखक कुनै एउटा विचारबाट प्रभावित हुनु नौलो कुरा भएन । स्व. विश्वेश्वरप्रसाद प्रसाद कोइराला, पुष्पलालहरु पनि विचार र सिद्धान्तबाटै प्रभावित थिए । वर्तमान समयमा धेरै धुरन्धर विद्वानहरू पनि विभिन्न कलेवरबाट प्रभावित छन् । तथापि, लेखकले एउटा पार्टीको सिद्धान्त र नीतिमा मात्र कलम चलाउने हो भने, त्यहाँ लेखकीय स्वतन्त्रता रहन्न । दीपकप्रसाद पौडेल काँग्रेसी भए पनि पुस्तकले बोकेको विषयको गाम्भिर्यता हेर्दा उनी काँग्रेसी कलेवरबाट बाहिरिएर किसानका लेखक बन्नु पर्दथ्यो ।
हामी कहाँ किसान र मजदुरका पक्षमा कलम चलाउनेहरूको सङ्ख्या औलामा गन्न सकिने पनि छैन । आजकल त पैसाको बलमा अरूलाई खेताला लगाएर आत्मबृत्तान्त लेख्ने प्रचलन छ । सृजनालाई पैसाको तराजुमा तौलनेहरुले अर्थ न बर्थका घटनाक्रमलाई तोड मोड गरेर निकालेका रंगीन कलेवरका बाक्ला कभरले किसानका मर्म र पिडा बुझ्न सकेका छैनन् ।
लेखकले तेस्रो पुस्तक लेखिरहँदा दस्ताबेज भन्दा माथि गएर समाज र राष्ट्रका लागि स्पष्ट कार्यदिशा दिन सक्ने सबैको साझा पुस्तक निकाल्छन् भन्ने थियो तर, उनी त्यस मानेमा असफल भए । मैले यसो भन्दैमा लेखकको मेहनतलाई औँला उठाएको पक्कै हैन, तथापि, पुस्तकलाई अभ गहकिलो र फराकिलो बनाएको भए सुनमा सुगन्ध हुने थियो ।
पुस्तकलाई बिट मार्दै गर्दा, मेरो मनमा खट्केको कुरा, लेखकको दोस्रो पुस्तकको कभरमा उनकै तस्बिरले प्राथमिकता पाएको थियो, तेस्रो पुस्तकमा पनि उनकै तस्बिरले प्राथमिकता पायो । पुस्तकका अन्तिम पृष्ठहरूमा पनि उनकै तस्बिर बढी छन् । यसरी आफूले लेखेको पुस्तकमा आफ्नै तस्बिरलाई बढाइँ चढाई गरेर राख्नु त्यत्ति उचित लागेन । बरु त्यसका ठाउँमा सान्दर्भिक विषय राखेको भए उपयुक्त हुन्थ्यो ।
यदि यो पुस्तक लेखकको आत्मबृतान्त भएको भए त्यसमा आफ्ना विषयसँग सान्दर्भिक तस्बिरहरू राख्दा फरक अर्थ लाग्दैनथ्यो । यो पुस्तक सबै किसानहरूको साझा पुस्तक हुन नसकेको नेपाल किसान संघको इतिहास बोकेको दस्ताबेज हो ।
अन्तमा, पुस्तकले नेपालको किसान आन्दोलन र नेपाली काँग्रेसले किसान प्रति हेर्ने दृष्टिकोण कस्तो रहेछ भन्ने प्रष्ट्याउन सफल भएको छ । लेखकलाई अझ सशक्त ढङ्गले कलम चलाउन र जनताका आवाज मुखरित गर्न प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना ।
“








