मेस्सी, स्वारेज र पिकेको गोल: बार्सिलोना विजयी

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा भालेकानोलाई पराजित गरेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र जिरार्ड पिकेले गोल गरे । यता, रायो भालेकानोका लागि भने टोमस गोमेजले गोल गरेका थिए । आफ्नो सुरुवाती अग्रतालाई जोगाउन नसक्दा रायो भालेकानोले हार ब्यहोरेको हो ।
खेलको २४ औं मिनेटमा गोमेजले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा पिकेले गोल गर्दै खेल १–१ गोलको बराबरी ल्याएका थिए । त्यस्तै, ५१ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, स्वारेजले खेलको ८२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको जित दिलाए ।
null
जितसँगै बार्सिलोनाको २७ खेलबाट ६३ अंक भएको छ । त्यस्तै, शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले लेगानेसलाई १–० गोलअन्तरले पराजित गरेको छ । गेटाफेले हुएस्कालाई २–१ गोलअन्तरले पराजित गर्दा अलाभेस र इबार भने १–१ गोलको बराबरीमा रोकिएका छन् ।








