बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ३१० पुग्यो, आज सामूहिक अन्त्येष्टि गरिँदै

बैशाख १०, श्रीलंका । श्रीलंकामा आइतबार चर्च र होटलहरुमा भएको आठ बम धमाकामा मृत्यु हुनेको संख्या बढेर ३१० पुगेको छ । मृतकमध्ये ३८ जना विदेशी नागरिक हुन् । आधिकारीक स्रोतका अनुसार यसमा १० जना भारतीय पनि छन् ।
मंगलबार मृतकको सामूहिक अन्त्येष्टिको पहिलो चरण सुरु गरिएकाे छ । पुरै देशमा तीन मिनेटको मौन धारण राखिएको छ भने अप्रिय घटना रोक्नका लागि इमरजेन्सी पनि लगाइएको छ ।
null
प्राप्त जानकारी अनुसार यो बम विस्फाेट कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतबाट गराइएको हो । सरकारले स्थानीय जेहादी गुट (नेश्नल तौहीद जमात) माथि आशंका गरेको छ, यद्यपी अहिलेसम्म कसैले पनि यस घटनाको जिम्मेवारी लिएका छैनन् ।
घटनामा अहिलेसम्म ३८ जना हिरासतमा पुगिसकेका छन् । तीमध्ये २६ जनालाई सीआईडी र ९ जनालाई पुलिसले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका मध्ये ९ जनालाई मात्रै अदालतमा पेश गरिएको छ । ती ९ जनै एउटै फ्याक्ट्रीमा काम गर्छन् । अन्यकाे भने परिचय खुलाइएकाे छैन ।
यता हमलाको पहिले नै चेतावनी मिलिसक्दा पनि सरकारले केही नगरेको भन्दै श्रीलंकामा हंगामा मच्चिरहँदा प्रधानमन्त्री रनिल विक्रमासिंघेले भने प्रहरी अधिकारीहरुमाथि अनुसन्धान गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । यसबाट राजनीतिक विवाद थप बढेको छ ।
राष्ट्रपति सिरीसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसलाई भनेका छन्, ‘सरकारको गल्ती भएको छ या छैन, यसको अनुसन्धान गरिन्छ ।’
श्रीलंकामा आक्रमणलगत्तै आइतबार कर्फ्यू लगाइएको थियो भने सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएकाे थियाे ।








