धरानको एन्फा एकेडेमी पुनः सञ्चालनमा आउने

धरान, जेठ २४ । लामो समयपछिको अन्तरालमा एन्फामा नयाँ नेतृत्वसहित पदाधिकारीहरु चुनिएर आएपछि एन्फा एकेडेमी पुनः सञ्चालनमा आउने भएको छ । नयाँ नेतृत्वसहित पदाधिकारीहरु चुनिएर पहिलो बैठकबाट सातै प्रदेशमा एन्फा एकेडेमी सञ्चालन गर्ने निर्णय गरेअनुसार सुनसरीको धरानमा रहेको एन्फा एकेडेमी पनि यसै वर्षदेखि सञ्चालनमा आउने भएको हो ।

एकेडेमीको अवस्था बुझ्न गएका एन्फाका केन्द्रीय उपाध्यक्ष सहितको टोलीले धरान १७ स्थित रहेको एकेडमीको निरिक्षण गरेपछि यस्तो कुरा बाहिरीएको हो ।

करिब ४ वर्ष अघिबाट बन्द रहेको एन्फा एकेडेमी पुनः सञ्चालन गर्नको लागि अध्ययन गर्न केन्द्रीय उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङ सहित केन्द्रीय सदस्य तथा एन्फाका प्रवक्ता किरण राई र इन्जिनियरको टोलीले हिजो(बुधबार) एन्फा एकेडेमीको भवन, आवास तथा खेलमैदानको निरीक्षण गरेको थियो ।

अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता राईले धरानको एकेडेमी यसैवर्ष सञ्चालनमा आउन सक्ने बताए ।

उनले भने, ‘भौतिक पूर्वाधार निर्माण गर्नु नपर्ने मर्मत–सम्भार मात्र गर्दा पुग्ने भएकोले यसै वर्ष सञ्चालनमा ल्याउनेछौँ ।’

एन्फाका केन्द्रीय उपाध्यक्ष पङ्कज विक्रम नेम्बाङले चुनावको बेला गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न धरान आइपुगेको बताए । उनका अनुसार सातैवटा प्रदेशमा एकेडेमी सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत यसवर्ष फिफाले १ लाख ५० हजार डलर बजेट दिएकोले यसवर्ष धरान, च्यासल र बुटवलमा एन्फा एकेडेमी सञ्चालन गर्ने बारे छलफल चलिरहेको छ ।

फुटबलमा शुद्धीकरण हुनुपर्ने भन्ने अभियानमा सुनसरीले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै नेम्बाङले अनुगमनका साथै सुझाव लिन विभिन्न जिल्लामा आफू पुगिरहेको बताए ।

सोही अवसरमा एन्फाका मानार्थ उपाध्यक्ष तथा एकेडेमी संयोजक किशोर राईले धरानमा एन्फा सञ्चालनको निम्ति योजना सहितको प्रस्ताव–पत्र समेत हस्तान्तरण गरेका थिए ।

राईले भौतिक तथा नैतिक रुपमा जिल्ला बलियो नहुन्जेलसम्म एन्फा बलियो नहुने भन्दै एन्फाको टिमलाई तत्काल जिल्ला लिगको घोषणा गर्न समेत माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 19 =