चलचित्र निःप्हुगाल (हामी भुजेल)को बिशेष प्रदर्शनमा कलाकारलाई सम्मान

माघ २६, धरान । भुजेल भाषा संस्कृतिको संरक्षणमा चलचित्रको माध्यमबाट योगदान पुर्रयाएकाे भन्दै भुजेल भाषाको नेपाली चलचित्र निःप्हुगाल (हामी भुजेल)को टिमलाई भुजेल समाज सुनसरीले सम्मान गरेकाे छ । शनिबार धरानमा चलचित्रको विशेष प्रर्दशनीसँगै चलचित्रका टीमलाई सम्मान गरिएकाे हाे ।
भुजेल समाजमा रहेका परम्परा, संस्कार संस्कृतिलाई चलचित्रकाे माध्यमबाट जनतामाझ उतारेकाेले कलाकारको प्रोत्साहनका लागि उनीहरूलाइ सम्मान गरिएको आयोजक भुजेल समाजका सुनसरी अध्यक्ष रबि भुजेलले बताए । चलचित्रको विशेष प्रर्दशनीको क्रममा सम्मानित हुनेहरुमा चलचित्रका नायक भिम भुजेल, सहनायक सुरज भुजेल, ज्ञानु भुजेल, सुरेन्द्र भुजेल तथा नेपाली चलचित्र छिरिङ नायिका कामना भुजेललाई रहेका छन् ।
कार्यक्रममा भुजेल समाजका अध्यक्ष रबि भुजेलले कलाकारहरुको प्रोत्साहनका साथै समाजमा भुजेल समुदायको भाषा संस्कार संस्कृतिलाई जर्गेना गर्न खेलेको भुमिकाको प्रशंसा गरे । नेपालमा जातीय पहिचान लोप हुँदै गइरहेकाे बताउँदै भुजेल समुदायको समस्यालाई चलचित्रमा कलाकारले उतारेर शाहसिक काम गरेको उनले बताए ।

कार्यक्रममा धरानका नगर उपप्रमुख मन्जु भण्डारी लगायत धरानका बिभिन्न वडाका बडा अध्यक्ष सहित संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । चलचित्रमा भुजेल समुदायको संस्कार र संस्कृति तथा सामाजिक परिवेश समेटिएको छ ।
भकारी फिल्मसको ब्यानरमा ३५ लाख लगानीमा निर्माण भएको सो चलचित्रको लेखन कमल भुजेल, निर्देशन कृष्ण गुरुङ, नृत्य निर्देशन पार्वती गुरुङ तथा छायाङकन प्रकाश गुरुङले गरेका छन् । चलचित्रकाे माघ २७ गते सोमबार धरान ८ स्थित गोर्खा सिने कम्प्लेक्समा प्रदर्शन गरिने जानकारी दिइएकाे छ ।








