ओली बाहेक अन्यको हकमा एक व्यक्ति एक पदको सिद्धान्त लागु हुने

काठमाडौ, जेठ १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी अन्तर्गत बढीमा ३३ देखि ३५ वटा विभाग प्रस्ताव गरिएको छ ।

पार्टीको नियमावली मस्यौदामा तत्कालिन एमालेले अभ्यास गरेको ढाँचा अनुसार विभागहरु बनाउने प्रस्ताव गरिएको हो ।

बेदुराम भुसाल र खिमलाल देवकोटाको उपसमितिले तयार पारेको पार्टी सञ्चालन नियमावली महासचिव बिष्णु पौडेल नेतृत्वको समितिमा पेश भएको छ ।

समितिमा छलफलपछि केही थपघट गर्न पुन भुसाल उपसमितिलाई दिइएको स्रोतले जनाएको छ ।
नियमावली मस्यौदा गर्न केन्द्रीय सचिवालयले महासचिव पौडेलको संयोजकत्वमा देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो ।

समितिको आइतबारको बैठकमा नियमावली मस्यौदामाथि छलफल भएको र केही हेरफेर गर्न सुझाव आएको भुसालले बताएका छन् ।

नेकपाका विभागहरुमा प्रमुख, उपप्रमुख र सचिव तीन पदाधिकारी सहित ३० बढी सदस्य हुने निमावलीमा व्यवस्था गरिने भएको छ ।

विभागको सचिव भने सदस्यहरुमध्येबाट चयन गरिने नियमावलीमा उल्लेख भएता पनि प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीले तोक्ने छ ।

नेकपाले विधान र निमायवलीमा रहेको एक व्यक्ति एक पदको अवधारणालाई कडाइका साथ लागु गर्ने भएको छ ।

राज्यको कार्यकारी पदमा रहेका व्यक्ति पार्टीको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहन नपाउने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली बाहेक अन्य नेताको हकमा एक व्यक्ति एक पदको सिद्धान्त लागु हुने एक नेताले बताएका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री, संघीय सरकारका मन्त्री, स्थानीय तहका प्रमुखहरु पार्टी कमिटीको प्रमुख कार्यकारी हुन नपाउने व्यवस्था गरिएको छ ।

त्यतिमात्र होइन, पार्टीको एउटा कार्यकारी कमिटीमा रहेको व्यक्ति अर्को कार्यकारी कमिटीमा बस्न नपाउने व्यवस्था गरिएको मस्यौदा कार्यदलका एक सदस्यले बताएका छन् ।

प्रदेश कमिटीको हकमा भने यो पहिलो पटक गठन हुन लागेकाले के गर्ने भन्ने छलफल हुँदैछ ।

केन्द्रीय कमिटीमा अध्यक्ष, दुई बरिष्ठ नेता, महासचिव र प्रवक्ता विधानमै तोकिएको छ । तर प्रदेश, स्थानीय तह, वडा कमिटीदेखि प्रारम्भिक कमिटीसम्म पार्टी एकता गर्दा अध्यक्ष र सचिव दुईमात्र पदाधिकारी रहनेछन् ।

अधिवेशनबाट मात्र बहुपदमा जानेछन् । प्रदेश कमिटीहरुको एकीकरणका लागि सातै प्रदेशमा कार्यदल गठन गरिएको छ ।

प्रत्येक प्रदेशमा तत्कालिन एमालेका संयोजक र सहसंयोजक र तत्कालीन माओवादीका इन्चार्ज र सहइन्चार्ज रहेको कार्यदलले प्रदेश कमिटीहरुको एकीकरण प्रस्ताव गर्ने छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका ४ सय ४१ सदस्यको आधिकारिक नामावली निर्वाचन आयोगमा आज पेश हुने भएको छ ।

केन्द्रीय कमिटी बैठकको मान्युट र हस्ताक्षरसहित आधिकारिक नाम बुझाउन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =