आज बार्सिलाेना र लिभरपुरकाे राेमाञ्चक भिडन्त, कसले मार्ला बाजी ?

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज एक महत्त्वपूर्ण खेल हुँदैछ । सेमिफाइनलअन्तर्गत आज पहिलो लेगको खेलमा स्पेनिस बार्सिलोना र इंग्लिस टोली लिभरपुल भिड्दैछन् । यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । दोस्रो लेगको खेल लिभरपुलको घरमा अर्को साता हुनेछ ।जारी सिजन प्रतियोगिताका दुई प्रमुख उपाधि दाबेदार टिम सेमिफाइनलमै भिड्ने भएकाले यो खेल सर्वाधिक आकर्षणको केन्द्रमा छ । फाइनल पुग्न यी दुई टिमले एकअर्कालाई पन्छाउनुपर्ने हुन्छ । 

युरोपका दुई ‘हेभिवेट’ टिमको भिडन्त हुने हुँदा आजको खेल रोमाञ्चक हुनेमा शंका छैन । धरैले यस खेललाई यस सिजनको च्याम्पियन्स लिगको फाइनलसरह मानेका छन् । अर्को सेमिमा इंग्लिस टोली टोटनह्याम र डच टिम आयाक्सको प्रतिस्पर्धा छ । गत राति भएको सो खेलमा आयाक्सले टोटनह्यामलाई उसकै घरमा ०–१ हरायो ।च्याम्पियनस लिगमा यी दुई टिम सन् २००७ पछि पहिलोपटक भिड्न लागेका छन् । त्यसबेला लिभरपुल र बार्सिलोना अन्तिम १६ मा भिडेका थिए, जहाँ लिभरपुलले बार्सिलोनालई समग्रमा २–२ को बराबरी भए पनि अवे गोलमा पछि पारेर आफू अन्तिम आठमा पुग्दा बार्सिलोना भने आउट भएको थियो ।त्यसयता यी दुई टिम १२ वर्षपछि पहिलोपटक युरोपियन प्रतियोगितामा भेट भएका हुन् । यी दुई टिम हालसम्म यस प्रतियोगितामा कूल ८ पटक भिडेका छन् ।आज आफ्नो घरमा उत्रिँदा पछिल्ला तीन सिजन लगातार अन्तिम आठबाटै आउट भएको बार्सिलोना गत वर्षको फाइनालिस्ट लिभरपुललाई हराएर फाइनलको बाटो सहज बनाउन चाहन्छ । त्यसका लागि आज बार्सिलोनाले आफ्नो घरमा जितका लागि कुनै कसर बाँकी राख्नेछैन । 

यस खेलका लागि बार्सिलोनाको टोलीमा पहिलो रोजाइका सबै खेलाडी उपलब्ध छन् । उसलाई चोट वा प्रतिबन्धको तनाव छैन । प्रतियोगिताको सेमिफाइनल र फाइनलमा कार्डको प्रतिबन्धको नियम हटाइएकाले यसको पिर दुवै टिमलाई छैन ।यता, लिभरपुल आज क्याम्प नोउमा उत्रिँदा पहिलो रोजाइका खेलाडी लिएर उत्रिँदैछ । यसअघि मसलमा समस्या भएका ब्राजिलियन खेलाडी रोवर्ट फर्मिन्हो फिट हुँदै टोलीमा फर्किएकाले लिभरपुललाई ठूलो राहत मिलेको छ । अन्य सबै खेलाडी बार्सिलोनाविरुद्ध उत्रिन उपलब्ध छन् ।अन्तिम आठमा बार्सिलोनाले इंग्लिस टोली म्यानचेस्टर युनाइटेड र लिभरपुलले पोर्चुगिज पोर्टोलाई हराएर सेमिमा स्थान बनाएका थिए । खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट क्याम्प नोउमा सुरु हुनेछ । नेपालमा यो खेल सोनी नेटवर्कका च्यानलबाट लाइभ हेर्न सकिनेछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =